संविधानका नेतृत्वकर्ता नेम्बाङको निधन, राजकीय सम्मानसहित अन्त्येष्टी गरिने
हेटौंडा- संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको मंगलबार राति काठमाडौंमा निधन भएको छ । ७१ वर्र्षीय नेम्वाङको हृदयाघातका कारण निधन भएको हो । संविधानसभा अध्यक्ष नेम्बाङलाई घरको बाथरुममा हृदयघातका कारण अचेत अवस्थामा परिवारले फेला पारेका थिए । उनलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । नेम्वाङलाई राति १ः२० बजे अस्पताल ल्याइएको थियो । अस्पतालमा पु¥याउँदा उनको निधन भइसकेको औपचारिक रुपमा अस्पतालले घोषणा गरेको शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा.रमेश महर्जनले जानकारी दिए ।
पूर्वसभामुखसमेत रहेका नेम्बाङ बाथरुम जाने क्रममा ढलेका थिए । उनलाई परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका पनि थिए । २०७३ सालमा जारी संविधानका नेतृत्वकर्ता र २०६४ तथा २०७२ सालको संविधानसभा अध्यक्ष नेम्बाङ रहेनन् । ३९ वर्षको युवा उमेरमा उनी एमालेबाट राष्ट्रियसभा सदस्य बनेका थिए । उनी २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य थिए । गएराति उनको निधन भएको हो । दुई दिनअघिसम्म पनि नेम्वाङ शान्तिप्रक्रियाको बाँकी काम तार्किक निष्कर्षमा पु¥याउन जोडबलले लागिरहका देखिन्थे ।
संसदीय सभ्यासमा परिपक्व र बुझेका नेताका रुपमा चिनिन्छन् नेम्वाङ । संसदलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो । संसद बुझेका नेम्वाङलाई के सत्तापक्ष के प्रतिपक्षी सबै सांसदले अभिभावकको रुपमा लिने गरेका थिए । ‘संविधानसभाबाट संविधान घोषणा गर्ने कुशल नेता मात्र थिएनन् उनी । उनी संसदीय अभ्यासमा सिद्धहस्त लोकतान्त्रिक नेतासमेत थिए । संसदमा कुनै विषय जटिल बन्यो भने सबैबाट नेम्वाङको खोजी हुन्थ्यो । नेम्वाङले त्यसलाई निकास निकाल्थे ।’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने ।
२०६२÷०६३ मा पुनःस्थापित संसदका सभामुख भएका थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधान जारी गर्न उनले ठूलो भूमिका निभाएका थिए । नेम्वाङ राष्ट्रियसभा सदस्य हुँदा नै उनी तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए । गत चार मंसिरमा भएको चुनावमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । नेम्वाङले सार्बजनिक सभालाई सम्बोधन गरेको अन्तिम कार्यक्रम नै धरान बन्यो ।
‘एउटै धाराको पानी पिएजस्तै रह्यो सुवास नेम्बाङ र मेरो सम्बन्ध । उहाँ इलामको, म झापाको । अलग पार्टीका भए पनि हामी एउटै परिवारजस्ता थियौं । विचारहरुमात्रै होइन, दुःखसुख पनि साट्थ्यौं । सुवासजी नेकपा एमालेको मात्रै नेता हुनुहुन्थेन । दलहरुबीच साझा प्रिय नेता हुनुहुन्थ्यो । उहाँले कसैलाई पनि चिढ्याएर, घोचपेच गरेर बोलेको मैले कहिले पनि थाहा पाइन । शिष्ट, शब्य, नम्र व्यवहार गर्नुभयो । दृढताकासाथ व्यवहार देखाउनुभयो । उत्तेजना कहिले पनि देखाउनुभएन ।’, नेम्बाङलाई सम्झिँदै नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले भनेका छन् । सिटौला मात्र नभई सबै नेताहरुले नेम्बाङको सहमति र सहकार्यको भूमिकाको खुलेर पं्रशसा गरेका छन् ।
को हुन नेम्बाङ ?
७१ वर्षका नेम्बाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिएका हुन् । उनी अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरे । प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाए । जो इलाम—२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका थिए । त्यसअघि उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने । त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भए । २०५६ सालमा इलाम—२ बाट निर्वाचित भए ।
उनी २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बने । त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारी सम्हाले । २०६४ को संविधानसभा निर्वाचनमा इलाम—२ बाट निर्वाचित भए । २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बने । उनले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम—२ बाट जिते । २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरे । नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ फागुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार समेत बनेका थिए ।
बीए र बीएल पढाइ पूरा गरेका उनी राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) मा थिए । पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका थिए । नेम्बाङ राजकाज मुद्दामा सात महिना जेल परे । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए । नेम्बाङ नेपाल बार एसोसिएसनका महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्रदानगरिएको थियो ।
नेम्वाङको अन्त्येष्टिमा बिहीबार सार्वजनिक बिदा
संविधानसभाका अध्यक्ष नेम्वाङको अन्त्येष्टिको दिन बिहीबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कार भोलि बिहीबार हुने भएकोले नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी गराएको हो ।मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेम्वाङप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव राखिने
प्रतिनिधिसभाले संविधान सभा अध्यक्ष तथा सांसद नेम्वाङप्रति बिहीबार शोक व्यक्त गर्ने भएको छ । प्रतिनिधिसभाको बुधबारका लागि तय बैठक स्थगित गरी बिहीबार नेम्वाङप्रति शोक व्यक्त गर्न बोलाइएको छ ।सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गरेका हुन् । ‘संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण भदौ २७ गते १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएको ।,’ सूचनामा भनिएको छ, ‘शोक प्रस्ताव प्रयोजनको लागि सभाको बैठकभदौ २८ गते बिहीबार दिनको३ बजे बस्ने गरी निर्धारण गरिएको छ ।







