मकवानपुरगढीमा एकीकृत कृषि फार्मसहितको तालिम केन्द्र शिलान्यास

साझाकुरा
२०८० भाद्र २७, बुधबार ०९:१४

हेटौंडा-माइती नेपालले निर्माण र संचालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मंगलबार मकवानपुरगढी गाउँपालिका–५ सानोसुकौरामा शिलान्यास गरिएको छ ।माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा निर्माण गर्न लागेको कृषि फार्म तथा तालिम भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका हुन् ।

शिलान्यासका क्रममा मुख्यमन्त्री जम्कट्टेलले एकीकृत कृषि परियोजना धेरै महत्वपूर्ण रहेको भन्दै मानव बेचबिखन रोकथाम र महिलाअधिकार प्रबद्र्धनसँगै ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग पु¥याउँने भएकाले प्रदेश सरकारले सहयोग गर्ने बताए । बागमती प्रदेश सरकारले विगतमा भन्दा फरक ढंगले काम गरिरहेको उल्लेख गर्दै उनले सरकारको लगानीबाट लक्षित वर्ग र समुदायमा उपलब्धी पुग्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताए ।

बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले कृषि तथा पशुपालन सम्बन्धी तालिमसँगै महिलालाई आयआर्जनमा जोड्ने योजना धेरै राम्रो रहेको भन्दै आवश्यक सक्दो सहयोग गर्ने बताइन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले जीवनसँग संघर्ष गरिरहेका दिदीबहिनीलाई सीपसँग जोडेर काम गर्ने राम्रो उदेश्यले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई जग्गा माग गर्नु भएकाले जग्गा उपलब्ध गराइदिएको बताए ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलाहरुलाई आर्थिकरुपमा सशक्तिकरण गर्ने बताईन् । ‘पहिले तालिम पछि मेसिन (सिलाई) दिएर पठाउँथे, अब उहाँहरुलाई गाई, भैंसी, बाख्रा दिएर पठाउँछौं,’ उनले भनिन्, ‘तालिम लिएपछि दिदीबहिनीहरुले दुध कहाँ लाने भनेर चिन्तै लिनु पर्दैन, हाम्ले नै किन्छौ र दुध किनेर बटर, चिज ईत्यादी बनाउँछौं ।’

१८÷१९ बर्ष पहिलेदेखि महिलालाई बैदेशिक रोजगारको विरोध गरिरहेको भन्दै उनले अहिले बैदेशिक रोजगार टाउको दुःखाई भईरहेको जिकिर गरिन् । कृषि फार्म तथा तालिम केन्द्र संचालनबाट चेलिबेटी बेचबिखन र बैदेशिकरोजगारीको रोकथाम हुने दाबी गर्दै बागमती प्रदेशकी पूर्वप्रदेशप्रमुखसमेत रहेकी कोईरालाले बैदेशिक रोजगारीमा ऐस, आराम नहुने भन्दै बैदेशिक रोजगारको नाममा चरम ठगी, शोषण र अत्याचार भईरहेकाले सचेत रहन युवकयुवतीहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा माइती नेपालकी कार्यकारी निर्देशक विश्वराम खड्काले मानवबेचविखन एउटा जटिल सामाजिक समस्याको रुपमा आएको र आर्थिक समस्या, गरिबी र महिला माथिको विभेद प्रमुख कारण देखिएकाले माइती नेपालले महिलाहरुलाई प्रविधीसहितको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र संचालन गरिने बताए । मानवबेचबिखनमा परेका र पर्नसक्ने सम्भावित समुदाय, क्षेत्रका जोखीम उन्मुखलाई तालिम दिई समाजमा पुनस्र्थापना गर्नका लागि एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाको तयारी गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बागमती प्रदेशकी सांसद कञ्चनचन्द्र बादे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री चन्द्र पहाडी, मकवानपुर सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एवं प्रदेशसांसद एकालाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सूर्यप्रसाद सेढाईं, मकवानपुर प्रहरीप्रमुख सीताराम रिजाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामास्याङ्तान, बागमती प्रदेश प्रहरी कार्यालय र द कोकाकोला फाउण्डेशनका प्रतिनिधि लगायतको आतिथ्यता थियो ।

६५ रोपनी जग्गामा १ करोड ९२ लाख लागतमा आवासीय सुबिधा सहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म बनाउन लागिएको हो । सुकौरा एग्रो प्रालिले माईती नेपाललाई यो जग्गा १० बर्षका लागि निःशुल्क लिजमा उपलब्ध गराएको छ । एकीकृत कृषि फार्ममा व्यवस्थित तालिम हलसहित ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा र गाई पालन गरिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*