देशभरका अस्पतालको सेवा ठप्प पार्ने चेतावनी, कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१, स्थित सञ्चो हस्पिटल प्रालिका दुई प्रमुख डाक्टरमाथि भएको कुटपिट प्रकरण उत्कर्षमा पुगेको छ ।सञ्चो हस्पिटलका प्रमुख जनरल फिजिसियन डाक्टर विकास थापा र अर्का डाक्टर प्रशान्त विडारीमाथि डेंगूबाट चितवनमा मृत्यु भएका हेटौंडा उपमहानगरपालिका–१२, स्थित पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको परिवार र उनका आफन्तले हस्पिटलमै आएर बुधवार दिउँसो कुटपिट गरेका थिए । प्रधानको मृत्यु भने २५ साउनमा चितवनस्थित एक मेडिकल कलेजमा भएको थियो । डेंगू लागेका प्रधान पहिला सञ्चो हस्पिटलमा उपचार गर्न आएको र सञ्चोका चिकित्सकले उपचारपछि डिस्चार्ज गरेका थिए । घर पुगेपछि पुनः अस्वस्थ भएपछि प्रधान उपचार गर्न चितवन पुगेको र उनको २५ साउनमा मृत्यु भएको थियो ।
एक महिना अगाडिको घटनामा मृतक प्रधानको उपचारमा सञ्चोका डाक्टरहरुले लापरबाही गरेको भन्दै बुधवार डाक्टरहरु थापा र विडारीमाथि निर्घात कुटपिट भएको थियो । कुटपिट घटनापछि देशभरका चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले सरकारलाई दोषिमाथि कानुनी कारबाही गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । हेटौंडामा चिकित्सक कुटिएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी गराइएको र प्रचण्डले दोषिमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ ।
चिकित्सक संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो । ७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघको चेतावनी छ । ‘७२ घण्टाभित्र यो घटनामा सलग्न दोषीलाई कानूनी कारबाही नगरिएको अवस्थामा संघले देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेर आफ्नै ज्यानको सुरक्षामा खटिन बाध्य हुनेछौं’ ज्ञाापनपत्रमा भनिएको छ, ‘यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयम् हुनेछ ।’,
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेको हो । नेपाल चिकित्सक संघको मागप्रति नेपाल सरकारी चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ । सरकारी चिकित्सक संघले पनि आज विज्ञप्ती जारी गर्दै डा. थापा र बिडारीमाथि कुटपिट गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेको हो ।जिल्लास्थित सबै राजनीतिक दल, औषधि व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडामा कार्यरत सबै चिकित्सकहरुले कारबाही गर्नुपर्ने र कारबाही नगरे चिकित्सकहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
मृतक प्रधानका आफन्तले सञ्चो अस्पतालले राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेको बुझिएको छ । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले हेटौंडामा बिहीबार चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अन्यको खोजी भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले भने बुधवार नै कुटपिटमा संलग्न र पीडित चिकित्सक राखेर घटना मिलाउन खोजेको थियो । बिहीवार नेपाल मेडिकल एसोसिएसनद्वारा उजुरी दर्ता गराइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उजुरीमा दुई जनामाथि किटानी रहेको र अन्यको हकमा लगायत भनेर कारबाहीको माग गरिएको छ ।त्यसै गरी मकवानपुर उद्योग वाणिज्य संघले विज्ञाप्ति जारी गर्दै मकवानपुर जिल्लाको स्वास्थ्य सेवा सुधार, विस्तार र लगानीको गतिलाई दीर्घकालीन असर पुयाउने यस्ता अपराधिक र चेतना शुन्य घटनाको घोर भत्सर्ना गरेको छ । जिल्ला प्रहरी कार्यालय÷जिल्ला प्रशासन कार्यालय मकवानपुर समक्ष घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि अधिकतम सजायको माग गर्दै जिल्लामा कार्यरत सम्पुर्ण राजनैतिक दलहरु, नागरिक समाज, उद्योगी÷व्यवसायी, संघ संस्था एवं पेशाकर्मीहरुलाई पनि उक्त घट्नाको निन्दा गर्दै पिडितप्रति एक्यवद्धता प्रकट गर्न अनुरोध गरेका छन् ।
कारबाही गर्ने
प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन् । नेपाल चिकित्सक संघको ज्ञापनपत्र बुझ्दै प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताउनुभएको उनले बताए ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कासभापति रवि लामिछानेले चिकित्सक माथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरे ।लापरबाही र जटिलता आमजीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको भन्दै उनले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गरे । लामिछानेले डाक्टरमाथिको कुटपिटको घटनाबारे गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
डा. थापा परिवारसहित काठमाडौं पुगे
सामूहिक कुटपिटको सिकार भएका डा. विकास थापाले कार्यस्थल हेटौंडा छोडेका छन् । उनी परिवारसहित काठमाडौं पुगेको जनाइएको छ ।हेटौंडाका चर्चित जनरल फिजिसियन डाक्टर थापाले अब हेटौंडा आउने वा नआउने बारे परिवारसँग सल्लाह गरेर मात्रै निर्णय लिने बताएका छन् । डा. थापा बिहीवार बिहान ८ बजे परिवारसहित काठमाडौं गएको हस्पिटल स्रोतले जानकारी दिएको छ । कुटपिटबाट डाक्टर थापाको गाला र अनुहार सुन्निएको छ । अर्का डाक्टर प्रशान्त विडारीको आँखा र अनुहारमा चोट लागेको छ । थापाले थप उपचारका लागि भन्दै हेटौंडा अस्पतालबाट रेफर लिएर काठमाडौं गएका हुन् । गण्डकी प्रदेशको कास्की घर भएका डा. थापा विगत १० वर्षदेखि हेटौंडामा कार्यरत थिए ।







