हेटौंडाको बालसुधार गृह खचाखच, बस्न र खानसमेत समस्या
हेटौंडा- मानवजीवनमा सामान्य अवस्थामा पनि खान, बस्न र लगाउन पाउनुपर्ने आधारभूत आवश्यकता प्रमुख विषय हुन् ।मानिसमा जति पीडा वा तनाव भए पनि यी तीन विषय आधारभूत आवश्यकताभित्र पर्दछन् । तर, सरकारले सञ्चालन गरेको एउटा सुधारगृहमा थुनुवा÷ बन्दीहरु आधारभूत आवश्यकताबाट बञ्चित हुनुपरेको छ । हेटौंडा–११, थानाभ¥याङमा रहेको बालसुधारगृहमा थुनुवा÷बन्दी बालकहरु यही आवश्यकताको चरम अभावमा दैनिकी कटाउन बाध्य छन् । बालसुधारगृहको क्षमता ३० जनाको छ । तर, यहाँ हाल ७८ जना थुनुवा÷बन्दी बालकहरु रहेको गृहका प्रमुख प्रदीप गौतमले जानकारी दिए ।
विगतमै थुनुवा÷बन्दी बालक खचाखच भएको अवस्थामा ८ भदौमा भक्तपुरबाट थप १८ जना थुनुवा÷बन्दी बालकहरु आएका छन् । भक्तपुरको बालसुधारगृह फुटाएर उत्पात मच्चाउने थुनुवा÷ बन्दी बालकहरु हेटौंडा ल्याइएपछि गृहका व्यवस्थापन निकाय त्राशमा छन् । भक्तपुरमा जस्तै हेटौंडामा पनि बालकहरुबीच झडप हुने हो की भन्ने चिन्तामा गृहको व्यवस्थापन पक्षमा आशंका छ । भक्तपुरबाटै बीरगञ्जस्थित सुधारगृह गएका थुनुवा÷बन्दी बालकहरुले झडप गराइसकेका छन् । भक्तपुरको बालसुधारगृहमा झडप भएको महिना दिन नपुग्दै गत मंगलबार राति बीरगञ्जको बालसुधारगृहमा तनाव भएको हो ।
४ भदौमा भक्तपुरको बालसुधागृहमा झडपको घटनापछि सारिएका १८ बालक र बीरगञ्ज सुधारगृहमा पहिल्यैदेखि रहेका केही बालकको समूहबीच कुटाकुट भएको थियो । बालसुधारगृह हेटौंडाका गौतमकाअनुसार हालसम्म यहाँ कुनै तनावको अवस्था भने सिर्जना भएको छैन । तर, झडपको सम्भावना भने रहेको व्यवस्थापन पक्ष नै बताउँछ । भक्तपुरबाट ८ भदौमा १८ जना थुनुवा÷बन्दी बालकहरु यहाँ ल्याइएको हो । हालसम्म उनीहरुको विवरण भक्तपुरले उपलब्ध नगराएको प्रमुख गौतमले बताए ।
१४–२२ वर्षसम्मका रहेकामा भक्तपुरबाट १९–२५ वर्षसम्मका युवासमेत ल्याइएपछि झडप हुने सम्भावना देखिएकाले ९ जना प्रहरीले सुधारगृहमा सुरक्षा दिइरहेका छन् । यसअघि ७ जना प्रहरीले सुरक्षा दिइरहेकोमा भक्तपुरबाट आएपछि २ जना सुरक्षाकर्मी थपिएको हो । बालसुधारगृहमा क्षमताभन्दा दोब्बर बढीलाई
राखिएपछि व्यवस्थापनमा कठिनाई हुँदै आएको हो । पहिल्यै ६० जना थुनुवा÷बन्दी बालकहरु रहेकोमा भक्तपुरबाट थप १८ जना ल्याइएपछि अहिले खान, सुत्न र बस्नसमेत समस्या भइरहेको गृहका प्रमुख गौतमले बताए । ‘२०–३० जनालाई त भुइँमा सुताउनुपर्ने अवस्था छ ।’ गृहप्रमुख गौतमले भने, ‘हामीसँग तीनवटा कोठा र एउटा हल रहेको छ । खान, सुत्न र शौच गर्नै समस्या छ ।’,
बालसुधारगृहमा संरचनाको अभाव हुँदा शौच गर्न पनि समस्या भइरहेको हो । कारागार ऐनअनुसार कारागार सञ्चालन भइरहेको र बालसुधारगृह ऐन नआउँदा बालसुधारगृह सञ्चालनमा तालमेल नमिलेको गौतमले बताए । सुधारगृहमा पुस्तकालयको व्यवस्थापन र खेलकुद गतिविधि गराउन नसकिएको उनको भनाई छ । थुनुवा÷बन्दी बालकहरुलाई सुविधा दिन नसकिएको उनले बताए । नियमित तालिम दिन नसकिएको र बजेटको पनि अभाव रहेको गौतमले जनाए ।
विभिन्न अपराधमा वा बालबिज्याइँमा संलग्न भई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्थामा १८ वर्षमुनिका बालबालिकालाई बालसुधारगृहमा राख्ने व्यवस्था बालबालिकासम्बन्धी ऐनले गरेको छ । बाल न्यायसम्पादन (कार्यविधि) नियमावली २०७६ परिच्छेद–२ को ६ मा बालसुधारगृहमा स्वच्छ पिउने पानी, पोषणयुक्त खानेकुरालगायतका न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने उल्लेख छ । तर, देशभरका आठवटा बालसुधारगृहमा रहेका अधिकांश बालबालिका न्यूनतम सुविधाबाट वञ्चित छन् । उनीहरुको आचरण, बानी तथा व्यवहार सुधार्न शिक्षा, परामर्श लगायतका सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । तर, त्यस्ता बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायतका सुविधा पाउनु त टाढैको कुरा, खानपिन र सजिलोसँग बस्न नै संघर्ष गर्नुपरेको छ ।
बालसुधारगृहभित्रै शिक्षाको प्रबन्ध भए पनि शिक्षकको अभावमा धेरै सुधारगृहमा बालबालिकाले राम्रोसँग पढ्न नपाएको प्रमुख गौतमले बताए । अपराधमा संलग्न बालबालिकालाई सुधारेर सत्मार्ग देखाउन, भविष्यमा जिम्मेवार नागरिक बनाउन सुधारगृहमा राखिएको र यसका लागि आवश्यक सुविधा र व्यवस्था ऐनले तोकिदिए पनि हेटौंडाको बालसुधार गृह नै सुधार गर्नुपर्ने अवस्थामा छ । बालसुधारगृह हेटौंडामा १६ जिल्लाका थुनुवा÷बन्दी बालकहरु रहेका छन् । यहाँ आर्थिक अवस्थाले मध्यम परिवारका र अभिभावकविहीन बालकहरु धेरै रहेको प्रमुख गौतमले जानकारी दिए ।
३८ बालक
जर्वजस्तीकरणी मुद्दाका
बालसुधारगृह हेटौंडामा रहेका ६० जना थुनुवा÷बन्दी बालकहरु जर्वजस्तीकरणी मुद्दाका मात्रै ३८ जना रहेको प्रमुख गौतमले जानकारी दिए । जसमध्ये २२ जनाको जिल्ला अदालतबाट मुद्दा फैसला भइसकेको र १६ जनाको मुद्दा विचाराधीन छ ।१६ जनामध्ये कतिपयको मुद्दा २ वर्षदेखि अदालतबाट फैसला हुन बाँकी छ ।
जर्वजस्तीकरणी मुद्दाका १४ वर्ष मुनीका १ जना, १४ देखि १५ वर्षसम्मका ६ जना, १६ वर्षदेखि १८ वर्षसम्मका २३ जना र १८ वर्ष पूरा भएका ८ जना रहेको प्रमुख गौतमले बताए । सुधारगृहमा ७ जना लागूऔषध मुद्दाका, चोरी मुद्दाका ५ जना, डाँका मुद्दाका ३ जना, सवारी ज्यान मुद्दाका ३ जना, कर्तव्य ज्यान, जजक÷कर्तव्य ज्यान, अप्राकृतिक मैथुन, नकवाजनी चोरी र अपराधिक उपद्र मुद्दामा १–१ जना गरी ५ जना थुनुवा÷बन्दी बालकहरु रहेका छन् ।
हालसम्म ६० जनामा ३२ जनाको मुद्दा फैसला भइसकेको र २८ जनाको मुद्दा अदालतमा विचराधीन छ । भक्तपुर बालसुधारगृहबाट ल्याइएका १८ जना बालहरुको विवरण नआएकाले मुद्दाको प्रकृति खुल्न नसकेको हो । ६० जना थुनुवा÷बन्दी बालकहरुबाट असल आचरण भएका र कानुनले तोकेबमोजिमको कैद जीवन बिताइसकेकाले सवारीज्यान र डाँका मुद्दाका २ जनालाई संविधान दिवसका अबसरमा राष्ट्रपतिबाट कैद मिनाहाका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको बालसुधारगृहका प्रमुख गौतमले जानकारी दिए ।







