बागमतीका मन्त्री सुन प्रकरणमा जोडिएपछि सरकारसँग जवाफ माग

साझाकुरा
२०८० भाद्र ३१, आईतवार १२:०७

हेटौंडा-बागमती प्रदेशका एक मन्त्री दुबई (युनाइनेट अरब इमिरेट्स)बाट एक किलो सुन तस्करीमा संलग्नसँग नाम जोडिएपछि बागमतीप्रदेशसभामा कुरा उठेको छ ।हेटौंडा–१०, स्थित प्रदेशसभामा शनिवार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा मन्त्रीकै नाम जोडिएपछि सरकारसँग जवाफ माग गरेको हो ।

केही दिनअघि प्रहरीले बरामद गरेको करिब एक किलो सुन प्रकरणमा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री दावादोर्जे लामाको नाम मुछिएको छ । सुन तस्करीमा संलग्न काभ्रेका तरुण दल नेता विकास लामा (फरार)सँग मन्त्री लामाको आर्थिक लेनदेन सहितको विषय र एउटा चेक प्रहरीले बरामद गरेको विषय यसअघि सार्वजनिक भएका थिए । मन्त्री लामा काभ्रे नेपाली कांग्रेसका सभापतिसमेत हुन् ।

प्रहरीले तस्करीमा संलग्न विकास लामालाई पक्राउ गर्न असफल भए पनि उनले प्रयोग गर्ने गरेको कार बरामद गरेको थियो । कारमा अरु व्यक्तिका करोडौँ रकमको चेक बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिए । काभ्रे क्षेत्र नम्बर–१ ‘ख’का प्रदेशसभा सदस्य तथा मन्त्री लामाले दिएको ६ लाख रुपैयाँको चेक समेत विकासको कारमा फेला परेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसले मन्त्री लामाको भूमिका समेत शंकास्पद ठानिएको छ । मन्त्री लामाले भने विकाससँग लामो समयदेखि भेटघाट नभएकाले चेकबारे अनविज्ञता जनाए ।

प्रदेशसभा बैठकको विषेश समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको नाम सुन तस्करी प्रकरणमा मुछिएको विषय सञ्चारमाध्यममा आएको भन्दै सरकारसँग जवाफ मागेका हुन् । उनले मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएकाले यस विषयमा सरकारले सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्ने बताए ।

‘आज हाम्रै प्रदेश सरकार मन्त्री उपर, मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करका सन्दर्भमा व्यापक पत्रपत्रिकामा आएको छ ।’, थपलियाले भनेका छन्, ‘त्यो हो वा होइन ? सरकारले यस सदनमा सूचित गराउनु पर्दछ । यदि उहाँ निर्दोष हो भने त्यो कुरा सम्बन्धित मन्त्री र सरकारले बोल्नु पर्दछ ।’,
निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका थपलियाले हेटौंडाको सञ्चो अस्पतालमा भएको चिकित्सक कुटपिट प्रकरणमा संलग्न दोषीहरुलाई कडा कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यसैगरी, बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले सञ्चो अस्पतालमा भएको डाक्टरहरुमाथिको हातपातको विषयमा विशेष समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले घटनामा दोषि को–हो भनेर विशेष समिति बनाएर छानवीन गर्नुपर्ने बताए ।

यसैगरी, प्रदेशसभा बैठकमा विज्ञान प्रविधि नवप्रर्वद्धन तथा विकास कोष सञ्चालन विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन–२०७५ लाई संसोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संसोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको थियो । प्रदेशसभा १४ असोजमा बोलाइएको छ ।मन्त्री लामाको आपत्तिबागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् ।

बागमती प्रदेश सरकारका मन्त्री र नेपाली कांग्रेस जिल्ला समिति काभ्रेको सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुने भन्दै उनले कुनै प्रसंगमा कसैले खिचेको तस्वीरका कारण आफ्नो नाम जोड्नु गलत हुने उनले बताएका छन । एक किलो सुन प्रकरणमा काभ्रेका तरुण दलका नेता विकास लामा प्रहरीको खोजी सूचीमा परेका छन् ।

उनको गाडी प्रहरीले बरामद गरेको छ । विकाससँग सम्बन्ध रहेको भन्दै आफ्नो नाम जोडिएकामा नेता तीर्थबहादुर लामाले आपत्ति जनाएका हुन् । ‘मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु’ उनले भनेका छन ।

मन्त्री लामाले घटनाको सत्यतथ्य छानबीन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । छानबीनका लागि आफूले पनि सहयोग गर्ने उनले बताए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सचिवद्वय गुणराज मोक्तान र माधव ढकालले पनि विज्ञप्ति जारी गरी एक किलो सुन प्रकरणमा पार्टी सभापतिको नाम जोडिएकामा आपत्ति जनाएका छन् । उनीहरुले पनि घटना छानबीनको माग गरे । मन्त्री लामा काठमाडौंमै व्यस्त भएकाले हेटौंडामा शनिवार बसेको प्रदेशसभा बैठकमा उपस्थिति थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*