हेटौंडामा संविधान दिवस मनाइयो, सभामुख अनुपस्थित
हेटौंडा-बागमती प्रदेश सरकारको आयोजनामा बुधवार हेटौंडामा आठौं संविधान दिवस मनाइएको छ ।संविधान दिवस मुल समारोह समिति, बागमती प्रदेशको आयोजनामा संविधान दिवस मनाइएको हो । हेटौंडाको बुद्धचोकबाट निस्किएको भव्य ¥याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रमलाई बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सम्बोधन गरेका थिए । तर, संविधान दिवस मनाउने औपचारिक कार्यक्रममा भने बागमतीका सभामुख भुवनकुमार पाठक उपस्थित थिएनन् ।
पाठक १५ जेठमा आयोजना भएको गणतन्त्र दिवसको कार्यक्रममा पनि सहभागी थिएनन् । बुधवार संविधान दिवस मनाउने कार्यक्रममा मञ्चमा तीनवटा सोफा राखिएको थियो । तीनवटा सोफा प्रदेशप्रमुख, सभामुख र मुख्यमन्त्रीका लागि राखिएको थियो । तर, सभामुख पाठक नआएपछि कार्यक्रमको सुरुवातमा एउटा सोफा खाली नै थियो ।
खाली स्थानमा बागमती प्रदेशमा संस्थापक मुख्यमन्त्रीडोरमणि पौडेललाई आसनग्रहणगराइएको थियो । पाठक राप्रपाबाट निर्वाचन जितेर प्रदेशसभामा प्रवेश गरेका थिए । सरकार गठनको सुरुवातमा तत्कालीन गठबन्धनभा भागबण्डा लगाउँदा राप्रपाले सभामुख पाएपछि पाठक गएका थिए ।
सभामुख पाठक गणतन्त्र दिवस र संविधान दिवसमा अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको सांसदहरु बताउँछन् । संविधान दिवसको कार्यक्रममा प्रतिपक्षी दलका नेता, सांसद उपस्थित हुँदा सभामुख नै अनुपस्थित हुनु राम्रो नभएको सांसदहरुले बताए । यद्यपि, कार्यक्रममा प्रदेशका सबै मन्त्रीहरु भने उपस्थित थिएनन् । साझाकुरासँग कुरा गर्दै सभामुख पाठकले आफू काठमाडौं नै भएकाले कार्यक्रममा आउन नपाएको बताए ।
गणतन्त्र दिवसमा पनि आउनु भएन नि भन्ने प्रश्नमा पाठकले भने, ‘ए त्यस्तो हैन के । कता–कता पुगिन्छ ।’, उनले आफू सभामुख भएको र राप्रपा पार्टीको राजनीतिक विषय नरहेको बताए । ‘मान्छेहरु त के–के हल्ला गर्छन्, गर्छन् । मैले संविधान मानेरै सभामुख भएको हो नि । व्यस्थताले आउन नपाएको हो ।’, पाठकले भने ।
संविधान दिवसलाई सम्बोधन गर्दै प्रदेशप्रमुख शर्माले भने संविधानको विरोध गर्ने धोबीहरु निस्किएको र उनीहरुको सम्मान गर्नुपर्ने बताए । शर्माले जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले संविधान निर्माण भएको यसमा समावेश गरिएको विशेषताको वर्णन गरिरहनु नपर्ने बताए । शर्माले संविधानका मर्म र भावनाहरुको पालना गर्न प्रतिबद्धता व्यक्त गर्नु नै हामी सबै नेपालीकोको मूल दायित्व भएको बताए । ‘संविधानप्रतिको ओठेभक्ति र संघीयताप्रतिको विषवमन विरोधाभाषपूर्ण विषय हुन् भन्दै उनले अन्तरवेदनाको असह्य पीडामा उत्सर्जित उच्छवास जनताको आँखाबाट बलिन्द्र धारा आँसु बनेर बहन्छ ।
ति आँसु पुछिदिने, अन्तरनादलाई मत्थर पार्न राहत दिने र आश्वस्त पार्ने शासकीय प्रणाली सुशासन हो ।’, उनले भने ।‘यस्तै सुशासनको संविधानले परिकल्पना गरेको छ’, शर्माले भने, ‘सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रुपमा अंगीकार गर्न सके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरुप्रति सच्चा श्रद्घाञ्जली हुनेछ ।’, संविधानले समाजवादको सुखद् परिकल्पना गरेको उनले बताए । ‘संविधानले न्याय, समानता र जनजीविकाको हक स्थापित भएको छ ।’,
उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोर्न सक्नुपर्छ ।’, शर्माले भने । संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यो संविधानले उपलब्ध गराएका नेपाली जनताका नीधि हुन् र भावी पुस्ताका धरोहर भएको उनले बताए ।
यसैगरी मुल समारोहको अध्यक्ष रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संविधानमा व्यवस्था भए अनुसारको प्रदेशले पाउनुपर्ने सबै अधिकारी प्राप्त हुनुपर्ने बताएका छन् । ‘संविधानलाई कार्यान्वयन गरेर मात्र समृद्धि र समाजवाद आउने छ ।’, उनले भने ‘नेपालको संघीयतामा आफ्नै बिशेषता रहेको छ ।’, संविधान दिवस २०८० को अवसरमा बागमती प्रदेश सरकारद्वारा प्रभातफेरी गरिएको थियो । बुद्धचोकबाट सुरु भएको प्रभातफेरी पिपल बोट, चौकिटोल ओरालो, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर औपचारिक समारोह गरिएको थियो ।
प्रभातफेरीमा सुरक्षा निकायले व्याण्डबाजा प्रस्तुत गरेका थिए भने सामाजिक संघसंस्थाले पञ्चेबाजा संस्कृतिका झाँकीहरु प्रस्तुत गरेका थिए । बागमती प्रदेश सरकारले भदौ २ गतेदेखि ३ दिन संविधान दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार संविधान दिवस २०८० लाई भब्य रुपमा मनाउन सोमबारदेखि नै विभिन्न कार्यक्रमहरु गरेको छ । जिल्ला वन कार्यालय मकवानपुरद्वारा असोज २ गते हेटौंडा–६ मा वृक्षरोपण गरेर ‘गाँउसहर हराभरा बनाउने’ अभियान सुरु गरेको थियो । सोमबार हेटौंडामा खुल्ला ५ किमि दौड प्रतियोगिता, मंगलबार ३८ जनाले रक्तदान गरेका थिए ।







