थाहानगर उवासंघको कार्यसमितिलाई स्वागत
हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरिएको हो ।कार्यक्रममा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष गुप्ताले मउवासंघको स्थापना, आर्थिक क्रियाकलाप, संघले विगतदेखि वर्तमानसम्म गरेका अन्य विभिन्न कार्यहरु बारे उनले संक्षिप्त जानकारी गराएका थिए ।
त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकालले मउवासंघका पूर्वअध्यक्ष केशव श्रेष्ठको कार्यकालबाट मउवासंघको उत्तरी क्षेत्र समिति गठन प्रक्रिया प्रारम्भ भएको र सोही उत्तरीक्षेत्र समिति हाल थाहानगर उद्योग वाणिज्य संघको रुपमा विकसित भएको बताए । थाहानगर उद्योग वाणिज्य संघको वर्तमान भवन मकवानपुर उद्योग वाणिज्य संघकै सहयोगमा निर्माण भएको, अहिले पनि थाहानगर उद्योग वाणिज्य संघको मातृसंस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघलाई आफूले लिएको उनको भनाइ रहेको थियो ।
उनले थाहानगर, कृषिको हिसावले परिचित र पर्यटकीय रुपमा सम्भावनायुक्त रहेको स्मरण गर्दै धार्मिकपर्यटनको रुपमा ऋषेश्वर, गोरखनाथलगायतका धेरै धार्मिक स्थल थाहानगरमा रहेको बताए । त्यसैगरी उनले मकवानपुर उद्योग वाणिज्य संघबाट थाहानगरको पर्यटन विकासमा सम्भावित पहलको लागि अनुरोध गरेका छन् । कार्यक्रममा संघका उपाध्यक्षत्रय प्रमोदसिंह रानाभाट, उज्वल चौलागाई, राजु अधिकारी, महासचिव दीपक उप्रेतीलगायतले बधाई ज्ञापन गरेका थिए ।







