बागमती प्रदेशमा मातृ र शिशु मृत्युदर सबैभन्दा कम
हेटौंडा-सात वटा प्रदेशमध्ये बागमती प्रदेशमा मातृ मृत्युदर र शिशु मृत्युदर सबैभन्दा कम रहेको पाइएको छ ।नेपाल जनसाङ्खिक सर्वेक्षण २०२२ अनुसार एक लाख जन्मिएका बालबालिकामध्ये १ सय ५१ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । नवजातशिशु मृत्युदर प्रति १ हजारमा २१ रहेको ।
प्रत्येक दिन २ जनाका दरले मातृमृत्यु हुने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको परिवार कल्याण महाशाखाको तथ्यांकले देखाएको छ । अनिच्छित गर्भ र असुरक्षित गर्भपतनका कारण मातृमृत्यु कम गर्न चुनौती देखिएको अध्ययनले देखाएको हो । मातृमृत्युको कारणमध्ये करिब ५ प्रतिशत गर्भपतनको जटिलता भएको उल्लेख छ ।
मातृमृत्यु भएकामध्ये १० प्रतिशत किशोरी रहेका छन् । त्यस्तै, उपयुक्त जन्मान्तरको कमीले पनि मातृमृत्यु बढिरहेको महाशाखाले जनाएको छ । अझैपनि करिब आधा जति गर्भ अनिच्छित रहने गरेको महाशाखाद्वारा गरिएको अध्ययनले देखाएको छ । सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम मातृमृत्युदर रहेको छ । अध्ययनअनुसार करिब दुई तिहाइ अनिच्छित गर्भपतन र कुल गर्भपतनको करिब आधा असुरक्षित हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार यदि दम्पतीले दुई गर्भबीच कम्तीमा २ वर्षको अन्तर कायम गरेमा परिवार योजना सेवाले ३० प्रतिशत मातृमृत्यु र १० प्रतिशत बालमृत्यु कम गराउने भनिएको छ । नेपालमा भने करिब ५३ प्रतिशत मातृमृत्युलाई कमी ल्याउन परिवार योजना सेवाको योगदान
रहेको अध्ययन भन्छ ।
लुम्बिनी प्रदेशमा मात्रै २ सय ७ मातृमृत्युदर रहेको छ । सबै भन्दा कम बागमती प्रदेशमा ९८ मातृमृत्युदर छ । दोस्रोमा कर्णाली प्रदेशमा १ सय ७२ मातृ मृत्युदर रहेको छ । गण्डकी प्रदेशमा १ सय ६१, कोशी प्रदेशमा १ सय ५७, मधेस प्रदेशमा १ सय ४० र सुदूरपश्चिम प्रदेशमा १ सय ३० मातृमृत्युदर रहेको महाशाखाले जनाएको छ ।
समग्रमा नेपाल भरको शिशुमृत्युदर १९ दशमलव ८ प्रतिशत रहेको छ । महाशाखाको आँकडालाई केलाउँदा सात प्रदेशमध्ये शिशुमृत्युदर सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ९ प्रतिशत तथा सबैभन्दा कम गण्डकीमा ९ दशमलव ४ प्रतिशत र गण्डकी पछि बागमतीमा कम शिशु मृत्यु दर रहेको पाइएको छ ।
लुम्बिनी प्रदेशमा १९ दशमलव ६ प्रतिशत, सुदूरपश्चिममा १८ दशमलव ६ प्रतिशत, कोशी प्रदेशमा १७ दशमलव २ प्रतिशत, कर्णाली प्रदेशमा १५ दशमलव ६ प्रतिशत, बागमती प्रदेशमा १० दशमलव ७ प्रतिशत मृत्युदर रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।
नेपालमा नवजात मृत्युदरमध्ये सबैभन्दा धेरै दुई वर्षमुनिका नवजातको मृत्यु भएको पाइएको छ । परिवार कल्याण महाशाखाले नवजातको उमेर समूहलाई ४ भागमा विभाजन गरेको छ । जसमा दुई वर्ष, दुई वर्षसम्मका, तीन वर्ष सम्मका र चार वर्षभन्दा माथिका नवजात भनेर उल्लेख गरिएको छ । यी उमेर समूहका नवजातमध्ये सबैभन्दा भन्दा धेरै दुई वर्षमुनिका नवजातको मृत्युदर ४२ प्रतिशत रहेको छ ।
यसैगरी, दोस्रोमा दुई वर्षसम्मका नवजात मृत्यु १८ प्रतिशत, तेस्रोमा तीन वर्षसम्मका नवजात मृत्यु १६ तथा चार वर्ष भन्दा माथिका नवजातको मृत्यु १२ प्रतिशत रहेको छ । ठुलो उमेर समूहका भन्दा साना उमेर शिशुको मृत्यु दर अधिक रहेको छ ।







