प्रदेश स्वास्थ्य मन्त्रालयको कामप्रति संघीय मन्त्री सन्तुष्ट
हेटौंडा- संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमबाट सन्तुष्ट रहेको बताएका छन् ।बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मन्त्रालयका कामको प्रशंसा गरेका हुन् ।
स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताए । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका ३ हजार ५ सय ६५ जनरल बेड निःशुल्क गरेपछि बागमती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरुका ८ सय ११ बेड निःशुल्क गरेको थियो ।
मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बागमती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति १ लाख रुपैयाँ सहुलियतमा थप ५० हजार रुपैयाँ उपलब्ध गराईरहेको, हृदयरोगका बिरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनीय रहेको स्वास्थ्यमन्त्री बस्नेतले बताए । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बिपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार–प्रसारको कमीले जनमानसमा पुग्न नसकेको उल्लेख गरे ।
बागमती प्रदेशले नेपाल रेडक्रस सोसाइटीसँग निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ । मन्त्रालयले शहिद गंगालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर हस्पिटलसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ । बागमती प्रदेशको चिकित्सा शाखाप्रमुख डा. खगेश्वर गेलालले बागमती प्रदेशले सीमान्तकृत बिपन्न जनताका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम र महिला स्वास्थ्य स्वयम्सेविकाका लागि स्वास्थ्य बीमामा ५० प्रतिशत सहूलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी गराए ।







