‘पर्यावरणीय संरक्षणमा सबै क्षेत्र जुट्नुपर्छ’

साझाकुरा
२०८० आश्विन ६, शनिबार ०८:४५

हेटौंडा- हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले पर्यावरणीय संरक्षणमा सबै क्षेत्र जुट्नुपर्ने बताएकी छन् । मानवजीवनका लागि प्रकृति अपरिहार्य रहेसँगै पर्यावरणीय संरक्षणमा पनि ध्यान पुग्नुपर्ने उनको भनाई छ ।शुक्रबार प्रकृति–मानव केन्द्रित जनअभियान नेपाल र हेटौंडा उपमहानगरको संयुक्त आयोजनामा भएको ‘पर्यावरणीय संरक्षणमा मानव जातिको भूमिका’ विषय अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर लामाले यसको संरक्षणमा संघीय, प्रदेश र स्थानीय सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले पर्यावरणीय संरक्षणको अभियानमा आफ्नो समर्थन रहेको जनाइन् ।

प्रकृतिको संरक्षण र प्रवद्र्धन गर्नसके मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने उनको विश्वास छ । ‘हामीले संरक्षण गरेको प्रकृतिको मूल्य विदेशी मुलुकले तिर्छन् । त्यसैले सबै तहको ध्यान जरुरी छ ।’, उनले भनिन् ।समाज अहिले विलाशिता तर्फ गइरहेको चिन्ता व्यक्त गर्दै लामाले यसलाई रोक्न जरुरी रहेको बताइन् । ‘श्रम बिर्सिदै गयौं, अब उत्पादनसँग जोडेर जान जरुरी छ ।’, लामाले सुनाइन् । प्रकृतिको उपयोगको योजना बनाउन जरुरी रहेको र यसको मनपरी ढंगबाट प्रयोग हुनबाट रोक्न आवश्यक रहेको उनको भनाई छ ।

अन्तरक्रियामा सहभागीहरुले मानव विकासले बिनासको अवस्था पनि बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । मानवमाथि खतरा, जैवक विविधता माथि खतराको अवस्था रहेको सहभागीको भनाई थियो ।अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरका कार्यपालिका सदस्य शंकर राई, वडासदस्य लेखराज ढकाल, अभियानका कृष्ण गौतम, अनुराधा उप्रेती, भुमेश्वर मण्डल लगायतको आतिथ्यता थियो । कार्यक्रममा अभियानकी गीता घिमिरेले स्वागत मन्तव्य र पर्यावरण विशेषज्ञ उत्तम कँडेलले आफ्नो प्रस्तुती दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*