मकवानपुरमा अकोराब गठन, अध्यक्षमा अधिकारी

साझाकुरा
२०८० आश्विन ७, आईतवार ०९:२९

हेटौंडा- सामुदायिक रेडियोहरुको साझा संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) मकवानपुरको गठनगरिएको छ । शनिवार हेटौंडामा भएको प्रथम जिल्ला सम्मेलनले अकोराब मकवानपुर समिति गठन गरेको हो । अकोराबको अध्यक्षमा शक्ति एफएमका सञ्चालक तिलक अधिकारी सर्वसम्मत चयन भएका छन् । सम्मेलनको बन्दसत्रले रेडियो मकवानपुरलाई उपाध्यक्ष, रेडियो मनहरीलाई सचिव, रेडियो पालुङलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिएको छ ।

मकवानपुरमा रहेका ८ वटा सामुदायिक रेडियोमध्ये बाँकी ४ (रेडियो इन्द्रसरोबर, रेडियो निकास, रेडियो सन्देश र रेडियो झुरझुरे) सदस्य रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको सम्मेलन अकोराब मकवानपुरका संयोजक राजकुमार केसीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । मेयर लामाले सामुदायिक रेडियोले दूरदराजका जनताका आवाजलाई बुलन्द पार्नुपर्नेमा जोड दिइन् ।

विकसित मुलुकहरुमा समेत महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा रेडियो रहेको कुरा स्मरण गर्दै उनले मकवानपुरका सञ्चारमाध्यमसँग हातेमालो र सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरेकी छन् ।सम्मेलनको उद्घाटन सत्रमा रेडियो मनहरीका सञ्चालक शिवकुमार काशीले मकवानपुरमा रेडियोको इतिहास, वर्तमान अवस्था र अकोराबले आगामी दिनमा चाल्नुपर्ने कदमबारे प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर, ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान)का बागमती प्रदेश अध्यक्ष गंगा पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईँ, अनलाइन मिडिया एसोसिएसन नेपाल (ओमान)का अध्यक्ष धर्मेन्द्र दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*