मकवानपुरको बाटो हुँदै भारतीय मदिरा तस्करी, ५ जना पक्राउ

साझाकुरा
२०८० आश्विन ८, सोमबार ०९:१०

हेटौंडा-भारतको हरियाणाबाट भारतकै विहार राज्यमा मदिरा पु¥याउन नेपालको बाटो प्रयोग हुने गरेको रहस्य खुलेको छ ।भारतीय मदिरा तस्करहरुले नवलपरासीको सीमानाकाबाट मदिरा नेपाल प्रवेश गराएर मकवानपुरको बाटो हुँदै बीरगञ्जबाट विहारमा पु¥याउने गरेको फेला परेको हो । भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित छ । जसकारण भारतका अन्य राज्यबाट विहारमा मदिरा ओसारपसार गर्न प्रहरी सुरक्षा कडा हुने भएपछि तस्करहरुले नेपालको बाटो प्रयोग गर्ने गरेको खुलासा भएको हो । दुईवटा कारमा फल्सबटम बनाई मदिरा बीरगञ्ज नाका कटाउने भारतीय तस्करहरुको योजना मकवानपुर प्रहरीले चकनाचुर पारिदिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय कारलाई ‘रोयल ग्रिन’ नामक मदिरा सहित पाँचजना भारतीय नागरिक नियन्त्रणमा लिएपछि विहारमा मदिरा पु¥याउन नेपालको बाटो प्रयोग भइरहेको रहस्य बाहिरिएको हो ।भन्सार छली ल्याएको ३ सय ७५ एमएल र १ सय ८० एमएल भएको ८ सय ५५ बोतल ‘रोयल ग्रीन’ मदिरासहित पाँच जनालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चौकीबाट पक्राउ गरेको छ ।

भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, वर्ष २८ का कुनाल, वर्ष ३१ का नहिम र वर्ष ३७ का राजु पक्राउ परेको मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले जानकारी दिए । ‘असोज ५ र ६ गते हेटौंडा हुँदै बीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएका मदिरा ३ सय ७५ एमएलका ७ सय १५ बोतल र १ सय ८० एमएलका १ सय ४० बोतल बरामद भएको हो ।’, एसपी रिजालले भने ।

भारतको हरियाणाबाट उत्पादित मदिरा नवलपरासीको नाकाबाट नेपाल भित्रिएको प्रहरीको भनाई छ । मदिरामा हरियाणाका लागि मात्रै प्रयोग गर्न मिल्ने ट्याग लगाइएको छ । ३ सय ५० एमएलको मदिराको भारतीय मूल्य २ सय ४० रुपैयाँ र १ सय ८० एमएलको मदिरा प्रतिबोत्तल १ सय ३० रुपैयाँ पर्ने जनाइएको छ । ‘यो मदिरा भारतबाट आएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।

’, उनले थपे रिजालले भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको र विहारमा मदिरा बिक्री गर्ने गिरोहले नेपालको बाटो प्रयोग गरेको बताए । एसपी रिजालकाअनुसार मदिरा तस्करले यसअघि दुई पटकसम्म मदिरा नेपालको बाटो हुँदै विहार पु¥याएको सूचना हाल प्राप्त भएको छ । ‘पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा यसअघि नै दुईपटक मदिरा लगिसकेको सूचना पाएका छौं ।’, एसपी रिजालले भने । मकवानपुर प्रहरीले पक्राउ गरेका पाँच जना भारतीय नागरिकसहित बरामद कार र मदिरा आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको प्रहरीप्रवक्ता प्रहरीनायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*