कोदो उत्पादनमा गढी र भीमफेदीको प्रोत्साहन
हेटौंडा- मकवानपुरका दुई स्थानीय तहले रैथाने बालीका खेतीलाई अनुदान दिएर प्रोत्साहन दिँदै आएका छन् । धान र गहुँ जसरी सिँचाइ नचाहिने कोदोबालीलाई प्रोत्साहन दिन थालिएको हो । किसानले निर्वाहमुखी तवरले परम्परादेखि कोदोबाली लगाउँदै आएका थिए ।गाउँपालिकाले प्रोत्साहन गर्न थालेपछि अब भने कोदोको मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा व्यावसायिक खेती अघि बढेको छ । मकवानपुरगढी र सँगैको भीमफेदी गाउँपालिकाले चालु वर्षदेखि कोदो खेतीलाई प्रोत्साहन दिन थालेका हुन् । मकवानपुरगढीका १, २, ४ ,७ र ८ नम्बर वडाका अधिकांश बासिन्दाले कोदोखेती गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाले बजारको व्यवस्थासँगै समर्थन मूल्य पनि तोकेकाले बिक्री हुनेमा ढुक्क रहेका किसान कुसुमबहादुर घलानले यो वर्ष २० रोपनी जग्गामा कोदो
रोपेका छन् । बजारीकरणमा स्थानीय तहले सघाउन सुरु गरेपछि उनले यसपटक २० रोपनीमा कोदो रोपेको बताए । खेती विस्तार गर्ने घलान एक्ला होइनन् । २ रोपनीमा लगाउँदै आएकी अम्बिका चौलागाईले यसपटक १० रोपनी जग्गामा कोदो रोपेकी छन् । ‘बेच्न र उचित मूल्य पाउन समस्या नभएकाले कोदो रोप्न थालेका हौं ।’, चौलागाईले मख्ख पर्दै भनिन्, ‘पहिला त गाईगोरुलाई नल खुवाउन घाँसको रुपमा कोदोखेती गरिन्थ्यो, अहिले कमाइका लागि गरिन्छ ।’, मकवानपुरगढी गाउँपालिकाले कोदोको ब्रान्डिङसँगै बजारीकरण पनि थालेको छ ।
मकवानपुरगढीले कोदोको समर्थन मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकेको छ । कोदो स्थानीय सहकारीमा बेच्ने किसानलाई प्रतिकेजी थप २ रुपैयाँ र सहकारीलाई बजारको व्यवस्थापन गर्न प्रतिकेजी २ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए ।अध्यक्ष लामाले भने–‘मकवानपुरगढीका कृषकहरु अहिले कोदोखेतीतर्फ आकर्षित भएका छन् ।’ संघीय सरकारले कोदोखेतीको प्रवद्र्धनका लागि अनुदान दिन थालेपछि गाउँपालिकाले पनि सुरु गरेको उनले बताए । मकवानपुरगढीमा गतवर्ष २ सय ५० हेक्टरमा कोदोखेती गरिएको थियो । अहिले विस्तार भएर ३ सय हेक्टर पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
चौधरीका अनुसार पालिकाका करिब २ सय घरधुरीले कोदोखेती गरेका छन् । गाउँपालिकाले कोदोको पिठो बजारमा ल्याएको छ । कोदोको खपत बढाउन विद्यालयको दिवाखाजा कार्यक्रममा सातामा एकदिन कोदोका परिकार खुवाउनु पर्ने नियम बनाइएको छ । दिवाखाजा कार्यक्रममा कोदोको सेल, हलुवालगायत विभिन्न किसिमका परिकार बनाएर खान दिने गरिएको छ ।गाउँपालिकाले गत वर्षदेखि बाँझो जग्गा खनजोत गरेर खेती गर्ने कृषकलाई प्रतिरोपनी ९ सय रुपैयाँ प्रोत्साहनस्वरुप अनुदान दिने गरेको छ । गत आवमा ४१ रोपनी बाँझो जग्गा खनजोतगरिएको थियो । यो वर्ष गाउँपालिकाले कोदो र फापरको समर्थन मूल्य तोक्नका लागि प्रक्रिया अगाडि बढाएको गापा उपाध्यक्ष मानकुमारी पाख्रिनले बताइन् ।
यसैगरी भीमफेदी गाउँपालिकाले चालु आवदेखि कोदोखेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सय रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । कोदोखेती गर्नेलाई अनुदान दिने व्यवस्था बजेटमै घोषणा गर्दा किसानमा सकारात्मक सन्देश गएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । ‘अहिलेको वर्ष झण्डै तीन हजार रोपनीमा कोदो रोपिएको छ ।’, उनले भने । गत वर्षसम्म कोदोखेती एक हजार रोपनीमा पनि थिएन । भीमफेदीले कोदोखेती प्रवद्र्धन गर्न चालु आवका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।







