बागमतीमा क्यान्सर उपचारका लागि पाँच अस्पतालसँग सम्झौता
हेटौंडा- बागमती प्रदेश सरकारले पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता गरेको छ । चितवनका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा प्रदेश सरकारले ५० हजाररुपैयाँ बराबरको खर्च व्यहोर्ने भएको हो । यससम्बन्धी सम्झौतासमेत गरिएको छ ।प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै प्रदेशभित्रका बिरामीले ती अस्पतालमा उपचार गर्दा ५० हजार रुपैयाँ थप छुट पाउने भएका छन् । संघीय सरकारले दिने एक लाख रुपैयाँ खर्च भएपछि बिरामीले थप ५० हजार उपचार खर्च पाउने भएका हुन् ।
सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्यूट, नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन् । बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ । यससँगै बागमती प्रदेशभित्रका क्यान्सरका बिरामीले उपचार गर्दा एक लाख ५० हजार रुपैयाँ बराबरको औषधि उपचारसेवा निःशुल्क पाउनेछन् ।
प्रदेश सरकारले यसअघि नै प्रदेशका अन्य २४ अस्पतालसँग यससम्बन्धी सम्झौता गरिसकेको छ । सम्झौता गरेका अस्पतालमा प्रदेशअन्तर्गतका १३ अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, कान्ति बालअस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् । यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र,त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पतालमा पनि ५० हजार रुपैयाँ बराबरको क्यान्सर रोगको उपचार निःशुल्क पाइने सम्झौता भइसकेको छ ।
प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले क्रमशः स्वास्थ्यसेवा निःशुल्क गरिनुपर्ने बताए । आर्थिक रुपमा विपन्न भएकै कारण उपचारबाट बञ्चित हुन नपरोस भन्नका लागि प्रदेश सरकारले सामाजिक स्वास्थ्य सुरक्षाका विभिन्न कार्यक्रम ल्याएको मन्त्री जोशीले बताए । उनले भने, ‘उपचार नपाएर कसैको अकालमै ज्यान नजाओस भनेर यी कार्यक्रम ल्याइएका हो ।’, प्रदेश सरकारले हृदयरोगको उपचारका लागि एक लाख १० हजार रुपैयाँ, रगत निःशुल्क, सीमान्तकृत जातिको स्वास्थ्य बीमा, आश्रितको स्वास्थ्य बीमा, स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमालगायतका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम ल्याएको छ ।







