मनहरीको २ नम्बर वडामा १७ घरलाई खानेपानी धारा
हेटौंडा- मनहरी गाउँपालिका–२ दोभानमा १७ घरपरिवारका निम्ति निर्माण गरिएको खानेपानी धाराको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र २ नम्बर वडाअध्यक्ष राजकुमार पाख्रिनले संयुक्त रुपमा नयाँ धाराको उद्घाटन गरेका हुन् । सिआरएस नेपालको आर्थिक सहयोग तथा सप्रोस नेपालको प्राबिधिक सहयोगमा स्थानीय जनताको श्रमदानमा धारा निर्माण सम्पन्न भएको हो । १८ घरधुरीलाई आयोजनाले समेट्ने लक्ष्य राखिए तापनि एउटा घरमा बाबू छोरालाई एउटै धाराले समेट्न सकिने भएर एउटा धारा कम भएको वडाअध्यक्ष पाख्रिनले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एबम् गाउँपालिकाका अध्यक्ष कालाखेतीले खानेपानी जस्तो संबेदनशील र आत्यावश्यक सेवा जनतालाई उपलब्ध गराउन संघसस्थाले गरेको भूमिकाको खुलेर प्रसंशा गरे । वडाअध्यक्ष पाख्रिनले गाउँपालिका सरकार र आफ्नो वडा सरकारको एकघर एक खानेपानी धारा अभियानलाई सार्थकता दिन संस्थाहरुले गरेको योगदानलाई स्वागत गर्दै धन्यवाद दिए । आफ्ना वडामा अझै पनि खानेपानीको सहज पहुँच पुग्न नसकेको अवस्थामा आगामी दिनहरुमा साझेदार संघसंस्थाहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
खोला र कुवाबाट खानेपानी खाँदै आइरहेको दोभानबासीले आयोजना सम्पन्न भएसँगै शुद्ध पिउने पानी आफ्नो घरमै प्राप्त गर्नेछन् । योजना सम्पन्न भएपछि मनहरी–२ दोभानका १७ घरपरिवारका झण्डै १०८ जना लाभान्वित भएको सिआरएस नेपालका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिए । १५ लाख ५९ हजार दुई सय पाँच रुपैयाँ ४१ पैसा अनुमानित बजेटको परिधिभित्र रहेर योजना सम्पन्न गरिएको योजनामा रिकभर परियोजना र समुदाय श्रमदान गरी जम्मा १२ लाख ९८ हजार आठ सय ९४ रुपैयाँ ४१ पैसा खर्च भएको बिबरणमा उल्लेख गरिएको छ ।
रिकभर परियोजनामार्फत् ११ लाख १३ हजार दुई सय ५४ रुपैयाँ ४१ पैसा खर्च भएको छ भने समुदाय श्रमदान अन्तर्गत १ लाख ८५ हजार छ सय ४० रुपैयाँ खर्च भएकोछ । उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मनहरी–२ का वडासदस्य सुकराम मुक्तान, सिआरएस प्रतिनिधि घिमिरे, सप्रोस नेपाल प्रतिनिधि प्रबीण अर्याललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमकै अबसरमा दोभान खानेपानी तथा सरसफाई आयोजनाले सार्बजनिक लेखापरीक्षण पनि सम्पन्न गरेको छ ।







