मकवानपुरमा यात्रु ठग्ने सवारी साधनलाई कारबाही

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दशैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारवाहीगरेको हो ।यात्रुबाट सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेर बढी लिएको भाडा रकम यात्रुलाई फिर्ता गरेको छ । दसैं अवधिभर ट्राफिक प्रहरीले ८ सवारी साधनबाट बढी भाडा वापत २० हजार २ सय ५० रुपैयाँ यात्रुलाई फिर्ता गराएको जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिए । बढी भाडा लिने र ट्राफिक नियम पालना नगर्नेहरुलाई जनही १ हजारदेखि ५ हजारसम्म जरिवान गरिएको समेत आचार्यले बताए ।
ट्राफिक प्रहरीका अनुसार दसैं अवधिमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १५ जना, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १ सय ३७ सवारी र यात्रुको टिकट नकाट्ने ३१ सुमोलाई कारवाही गरिएको हो । हेटौँडा–काठमाडौं सुमोभाडा दर ६ सय ५० तोकिए पनि यात्रुसँग १८ सयदेखि १२ सयसम्म लिएको भेटिएपछि प्रतिव्यक्ति ५ सय ५० र १ सय ५० सम्म रकम फिर्ता गराइएको उनले जानकारी दिए ।
सर्लाही–काठमाडौं १२ सय भाडादर तोकिएको भए पनि दुई हजारसम्म लिएकोमा प्रतिव्यक्ति आठ सय रकम फिर्ता गराइएको छ । त्यस्तै, सिमरा–काठमाडौं सुमो भाडादर ८ सय ५० तोकिएको भए पनि एक हजारसम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १ सय ५०रकम फिर्ता गराइएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ । निजगढ–काठमाडौं ८ सय ५० भाडादर तोकिएको भए पनि १ हजार ५ सय लिएकोमा प्रतिव्यक्ति ६ सय ५० रकम फिर्ता गराइएको प्रहरीले जानकारी दिएको छ ।