हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द
हेटौंडा- सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारण देखाउँदै उत्पादन बन्द गरेको छ ।मन्दीको प्रभावका कारण कोइला खरिद गर्न नसकेको भन्दै उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको हो । उद्योगमा मासिक ३ हजार ६ सय मेट्रिक टन कोइला खपत हुने गरेको छ । उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले दशैंको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए । उनले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सोमबारदेखि सिमेन्ट उत्पादन बन्द गर्नुपरेको बताए ।
चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ । कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको पाण्डेले बताए । २०३३ सालमा लामसुरेमा स्थापित उद्योगले २०४३ साल मंसिर २६ गतेबाट व्यावसायिक रुपमा उत्पादन सुरु गरेको थियो। उद्योगमा करिब ३ सय ९० कर्मचारी कार्यरत् छन् ।
महाप्रबन्धक पाण्डेले आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योग पुनः सञ्चालनमा ल्याउने बताए । कूल ३ लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ ।







