बागमतीमा कृषिबाट खान नपुग्ने किसान ५६ प्रतिशत

साझाकुरा
२०८० कार्तिक २३, बिहीबार ०९:०६

हेटौंडा- बागतमी प्रदेशमा कृषिको आम्दानीले वर्षैभरि खान नपुग्ने किसानको प्रतिशत ५५ दशमलव ९ रहेको सरकार तथ्यांकले देखाएको छ ।कृषि प्रधान मुलुकमा कृषि पेशाबाट घरबार चलाउन नसक्ने अवस्थाबाट किसान गुज्रिनु बिडम्बनाको विषय बनेको हो । बागमती प्रदेशमा कतिपय किसानहरु कृषि पेशाबाटै आत्मनिर्भर छन् । तर, आत्मनिर्भर हुनेहरु पनि वर्षैभरि खान नपुग्ने अवस्था रहेको कृषि गणना–२०७८ को तथ्यांकले देखाएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार बागमती प्रदेशमा ५५ दशमलव ९ प्रतिशतलाई कृषिको आम्दानीले खान नपुग्ने देखिएको हो ।

बागमतीमा ७२ दशमलव ६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । बाँकी स्वदेशमै विभिन्न पेशामा रोजगारी, स्वरोजगार कार्यमा र वैदेशिक रोजगारीमा छन् । मकवानपुरगढीका सुरेन्द्र हुमागाईंको मुख्य आयस्रोत नै कृषि पेशा हो । करिब ८ वर्ष वैदेशिक रोजगारीमा गएर आएका उनका एक छोरा र एक छोरी अध्ययनरत् छन् । करिब ६ कठ्ठा खेतमा गरेको कृषि पेशाले वर्षैभरि खान पु¥याउनुपर्ने बाध्यतामा हुमागाई छन् । उनले सिजनअनुसारको कृषि उत्पादनले खानमात्रै ठिक्क भएको र कुनै बचत हुन नसकेको बताए । कृषि उत्पादन खर्चिलो बन्दै गएकाले खेत नै बाँझो राख्नुपर्ने अवस्थामा पुगेको उनको गुनासो छ ।

‘बिउबिजन किन्दा खर्चिलो छ । ऋण गरेर कति दिन कृषि पेशा गर्ने । उत्पादनले ऋण तिर्न पनि मुस्किल छ । नगदे बालीमा आलु लगाइन्छ । आलु बेचेर वर्षभरि कसरी खान पुग्छ ?’, उनले भने । कृषि पेशा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४ दशमलव एक प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

युवाहरु विदेशिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको संख्या बढ्दो छ । विगत तीन दशकदेखिको नतिजा हेर्दा अहिले महिला कृषकको सङ्ख्या बृद्धिभएको निर्देशक कार्कीले बताए । नेपालमा ३२ दशमलव चार प्रतिशत महिला कृषक छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव दुई प्रतिशत र पुरुष ६५ दशमलव आठ प्रतिशत रहेका छन् । वि.सं. २०५८ को गणनामा महिला ८ दशमलव एक प्रतिशत र पुरुष ९१ दशमलव ९ प्रतिशत कृषक थिए । किसानको मुख्य चिन्ता भने समयमै मल, बीउ उपलब्ध नहुनुमा छ । ५७ प्रतिशतले समयमै मल, बीउ उपलब्ध भए उत्पादन बढाउन सकिने बताए ।

बागमतीमा पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावरट्रिलर प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । १४ दशमलव आठ प्रतिशत फलामे हलो, ३० दशमलव आठ प्रतिशत ट्याक्टर र १६ दशमलव सात प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए । तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भए पनि सरदर दुई पटकमात्र बाली लगाएको देखिन्छ । बागमती प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी घरपरिवार रहेकोमा ६ लाख ६८ हजार १ सय ७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार २ सय ९२ हेक्टर जमिन कृषिमा प्रयोग भएको तथ्यांक छ ।

नेपालमा सरदर एक दशमलव ९१ प्रतिशत बाली सघनता रहेपनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुई पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले बताए । उनका अनुसार बागमतीमा बगैँचाको रुपमा आँप ५ सय ३२ हेक्टरमा, केरा एक हजार १ सय २० हेक्टरमा, सुन्तला ६ सय ८८ हेक्टरमा, कागती ४ सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ । त्यस्तै यहाँ गाई÷भैसी पालन घट्दो छ । २०६८ को गणनादेखि नै यसको क्रम घट्दो देखिन्छ । गाईगोरु र राँगाभैसीभन्दा खसीबाख्रा, सुंगुर र बंगुर पाल्नेको संख्या धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा उत्पादन गरिएको वस्तु सबै घरायसी उपभोग गर्ने ६६ दशमलव चार प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने सात दशमलव चार प्रतिशत र सबै वस्तु बिक्री गर्ने शून्य दशमलव ९ प्रतिशत रहेका छन । ४८ प्रतिशतले सिँचाइको व्यवस्था, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शून्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन र प्राविधिक तालिम दिन सरकारलाई सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*