कृषि पेशामा बाँच्ने जनसंख्या ४४ प्रतिशत मात्रै

साझाकुरा
२०८० मंसिर २, शनिबार ११:१०

हेटौंडा- केहीसमय अघिसम्म नेपालका ९० प्रतिशत जनसंख्या कृषिपेशामा निर्भर थियो । चारदसक अघिसम्म नेपालले धान, मकै, गहुँ, फापर, कोदो, झुसेतिल भारत तथा तेस्रो मुलुकमा निर्यात गर्ने गरेको थियो । तर, अहिले नेपालले धान, चामल, गहुँ, मकै, फापर, तरकारी, फलफूल, गेडागुडी सबै चिज आयात गर्न थालेको छ । बागमती प्रदेशमा कृषि क्षेत्रबाट उत्पादन गरेको सवै वस्तु ६६ दशमलव ४ प्रतिशत कृषकले घरायसी उपभोगमा खर्च गर्ने गरेका छन् ।

कृषिपेशबाट प्राप्त हुने केही कृषिउपज बिक्री गर्ने २५ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ । यस्तै केही घरायसी प्रयोजनको लागि राख्ने बाँकी सबै बिक्री गर्ने ७ दशमलव ४ प्रतिशत रहेका छन् भने कृषिबाट उत्पादित सबै वस्तु बिक्री गर्ने शुन्य दशमलव ९ प्रतिशत रहेका छन् ।

हेटौंडामा राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा बामगमती प्रदेशमा करिव ५६ प्रतिशत परिवार कृषि आम्दानीले खान नपुग्ने रहेका छन् । तथ्यांक अनुसार प्रदेशमा कृषिपेसा गर्ने र त्यसको आम्दानीले खान नपुग्ने परिवार ५५ दशमलव ९ प्रतिशत रहेको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने ४४ दशमलव १ प्रतिशतमात्र रहेको देखाएको छ ।

कृषि गणना, २०७८ को प्रतिवेदनमा उल्लेखित तथ्यांक समेटिएको छ । नेपालभर कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्की बताउँछन् । बागमतीमा ७२ दशमलव ६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ ।तथ्यांक अनुसार कृषिमा पुराना प्रविधि हराउँदै गएको छ ।

फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावर ट्रिलर प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । तर, कृषि पेशालाई प्रमुख पेशको रुपमा अपनाउन नसकेको तथा झारा टराइ खेती लगाउने प्रचलन बढेकोले कृषिपेशमा आश्रित परिवार घट्दै गएको देखिन्छ । यसैगरी बागमतीमा १४ दशमलव ८ प्रतिशत फलामे हलो, ३० दशमलव ८ प्रतिशत ट्रयाक्टर र १६ दशमलव ७ प्रतिशत पावर ट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले जानकारी दिए ।

तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भएको तथ्यांकले देखाएको छ । तर, बाली सघनता भने घटेको छ । वर्षमा २ पटक भन्दा बढी बाली लगाउन सकिने अवस्थमा दाहो¥याएर बाली लगाउने चलन प्रायः हराउन थालेकोले वर्षमा बढीमा २ पटक मात्रै बाली लगाएको देखिन्छ । बागमती प्रदेशमा १५ लाख ७० हजार भन्दा घरपरिवार संख्या रहेकोमा ६ लाख ६८ हजार १ सय ७७ कृषक परिवार रहेको निर्देशक कार्कीले बताए ।

कार्कीका अनुसार प्रदेशमा २ लाख ८२ हजार २ सय ९२ हेक्टर जमिन कृषिउपजमा प्रयोग भएको छ । नेपालमा सरदर १ दशमलव ९१ प्रतिशत बाली सघनता रहेता पनि प्रदेशमा भने २ पटकसम्म बाली लगाएको पाइएको कार्की बताउँछन् । प्रदेशमा बगैचाको रुपमा आँप ५ सय ३२ हेक्टरमा, केरा १ हजार १ सय २० हेक्टरमा, सुन्तला ६ सय ८८ हेक्टरमा, कागती ४ सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको उनले बताए ।

त्यस्तै, प्रदेशमा गाई गोरुको पालन घट्दो छ । २०६८–७८ को गणना अनुरुप घट्दै गइरहेको देखिन्छ । गाईगोरु र राँगाभैसी भन्दा खसीबाख्रा र सुंगुरबंगुरको संख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा पछिल्लो समय कृषिकार्यमा महिलाको संख्या भने बढ्दो क्रममा रहेको छ । विगत तीन दशकदेखिको तथ्यांकले समेत महिला कृषकको संख्यामा बृद्धि भएको निर्देशक कार्कीले जानकारी दिए ।

नेपालमा ३२ दशमलव ४ प्रतिशत महिला कृषकको रुपमा रहेका छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव २ प्रतिशत र पुरुष ६५ दशमलव ८ प्रतिशत रहेका छन् । २०५८ को गणनामा महिला ८ दशमलव १ प्रतिशत र पुरुष ९१ दशमलव ९ प्रतिशत कृषक थिए । युवा जनशक्ति पुरुष पढ्न तथा कामको शीलशीलामा विदेसिएकाले समेत कृषिमा महिलाको सहभागिता बढ्दै गएको अनुमान गरिएको छ ।

यसैगरी बागमतीमा ४८ प्रतिशत कृषकले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषिकार्यको लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिकसेवा सहज, २२प्रतिशतले कृषिऔजार एवम् आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल र उन्नत वीउबिजन, १२ प्रतिशतले कृषिउत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*