१२ वर्षे जात्राको नाचमा संलग्नलाई सम्मान

हेटौंडा-कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनको उदेश्यले सञ्चालित कुन्छाल गाँउको १२ वर्षे जात्रामा संलग्न ब्यक्तिलाई सम्मान गरिएको छ । बिहिबाार ऐतिहासिक टिस्टुङ उपत्यकाको बाराहीखटमा आयोजित १२ बर्षे नाच प्रदर्शन कार्यक्रमको अवसर पारी नाचमा संलग्नलाई सम्मान गरिएको हो । उपत्यकाको पुराना जाति गोपालीको बसोबास रहेको कुन्छाल गाँउको १२ वर्षे देवीगण नाच हरेक १२ वर्षको अन्तरमा प्रदर्शन हुनेगर्छ । थाहा नगरपालिका–१ का गोपाली जातिको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको छ ।
नाच आयोजक टिमका मुख्य व्यक्ति धामी, कजि, देवीगण, कलाकार, बाजागुरुलगायत सबै सहयोगीलाई माला र टीका, पूजासहित सम्मान गरिएको हो । उनीहरुलाई हलि नेवा गुठीका राष्ट्रिय अध्यक्ष विनोद महर्जन, पर्यटन तथा संस्कृति मन्त्रालयका पूर्वमन्त्री दिलिप महर्जन, टिस्टुङ बज्रवाराही नेवा पुचःका अध्यक्ष हरिगोपाल श्रेष्ठ, नारायण महर्जन, बैकुण्ठ श्रेष्ठलगायतले सम्मान गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि पूर्वपर्यटनमन्त्री दिलिप महर्जन थिए । कार्यक्रममा हलि नेवा गुठी टिस्टुङ शाखाका अध्यक्ष नरहरि गोपाली, विष्णु गोपाली, राजभाइ श्रेष्ठ, भरत गोपाली, हलि नेवा गुठी रविभवन शाखाका अध्यक्ष विमला महर्जन, कमला महर्जन, गुरुहरु श्रीराम महर्जन, बाबुलाल श्रेष्ठ, महेश्वर महर्जन, सुनिल महर्जन, कृष्णबहादुर महर्जन लगायतको उपस्थिति रहेको थियो ।