टाटा सुमोको मनपरी रोकिएन, स्थानीय प्रशासन मौन

हेटौंडा- हेटौंडा–काठमाडौं चल्ने सुमोहरुले यात्रुसँग मनपरी भाडा असुलिरहेको पाइएको छ । यात्रुसँग भाडा तोकिएभन्दा दोब्बरसम्म असुली गर्दा पनि प्रशासनको उपस्थिति हुन नसकेको आरोप लागेको छ ।दसैं, तिहार र छठ पर्वको मौका छोपेर सुमोले तोकिएभन्दा बढी भाडा लिएका हुन् । हेटौंडाको ९० प्रतिशत सुमो काउन्टरले हेटौंडा–काठमाडौंका लागि प्रतियात्रु एक हजार रुपैयाँ भन्दा बढी भाडा लिएका छन् । हेटौंडा–काठमाडौंको सुमो भाडादर ६५० रुपैया प्रतिव्यक्ति तोकिएको भएपनि छठ पछि काठमाडौं फर्कने यात्रुको चाप बढी हुने मौका छोपेर सुमो काउन्टरहरुले बढी भाडा असुलेका हुन् ।
हेटौंडाबाट काठमाडौं जानका लागि सुमो काउन्टर पुगेका बकैयाका सुमन खत्रीले तोकिएभन्दा दोब्बर भाडा सुमो काउन्टरमा मागेको गु्नासो गरे । उनले हेटौंडाको आधा दर्जन बढी सुमो काउन्टरमा पुगेर टिकट काट्न खोज्दा सबैले हेटौंडाबाट काठमाडौं जान एक हजार मागेको जानकारी दिए ।१० प्रतिशत सुमो काउन्टरले मात्रै तोकिएको भाडा दरमा यात्रु बोकिरहेका छन् भने अन्य सबै सुमोले हजार बढी भाडा लिएको जनगुनासो छ । मकवानपुरगढीका कृष्णप्रसाद चौलागाईले पनि काठमाडौं जान एक हजार तिर्नुपरेको गुनासो गरे । हेटौंडा–१२ का सुरज थिङ पनि चाडपर्व सकेर काठमाडौं जानका लागि सुमो काउन्टरमा पुगेका थिए । काठमाडौं जानका लागि उनले पनि सुमोलाइ एक हजार रुपैयाँ बुझाएको बताए ।
सयौं यात्रुलाई हेटौंडाबाट छोटो दुरीमा चल्ने यातायातका साधनले दैनिक सास्ती दिँदासमेत स्थानीय प्रशासन भने मौन छ । चाडपर्वमा समस्यामा परेका यात्रुलाई सेवा दिनुको साटो दैनिकरुपमा खुलेआम ठगीधन्दा चलाउँदासमेत प्रशासन मौन छ भने आँखैअगाडि भएको ठगीको साक्षी बस्दै प्रहरीले पनि ठगहरुको धन्दामा थप टेवा पु¥याएको पीडितको आरोप छ ।