प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

साझाकुरा
२०८० मंसिर १०, आईतवार १०:२७

हेटौंडा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा शुक्रबार आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीयअधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सवइञ्जिनियर सुमन श्रेष्ठविरुद्ध ३१ लख ५९ हजार सात सय ३५ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । यस्तै, तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हीराबहादुर गुरुङविरुद्ध एक करोड १९ लाख पाँच हजार छ सय तीन रुपैयाँ, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध ८९ लाख दुई हजार छ सय ६५ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध १३ लाख ३१ हजार दुई सय १७ रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ । आयोगले बुढीराप्ती उपभोक्ता समितिका तत्कालीन अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध ७८ हजार रुपैयाँ र कङ्क्रिट मचान उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डाकुमारी दाहाल र सचिव कल्याण लटौलाविरुद्ध ३५ लाख ५० हजार नौ सय ५२ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*