हेटौंडामा सम्झिइए नारायण गोपाल
हेटौंडा- स्वर सम्राट नारायण गोपालको ३३ औं पुण्यतिथिको सन्दर्भमा मकवानपुरका संगीत साधकहरुले स्वर सम्राटको स्मरण गरेका छन् । हेटौंडा–२ स्थित पी.एम. सेन्टरले एक सांगीतिक साँझको आयोजना गर्दै स्वर सम्राट नारायण गोपालको स्मरण गरेको हो । पी.एम. सेन्टरका संचालक गायक तथा संगीतकार प्रमेन्द्र महर्जन को आयोजना तथा कार्यक्रम संयोजक शर्मिला श्रेष्ठको सभाध्यक्षतामा आयोजित कार्यक्रममा गायकहरु तुलुक लामा, सुनिता शर्मा लुईटेल, हरि घताने, अर्जुन लामा, अनिता मोक्तान, ज्ञान प्रसाद गौतम, घनश्याम ढकाल, बिना राई, बालकलाकार प्रसिद्धि लामिछाने,सुरेश न्यौपाने, मोहनमान सांगामी लगायतले सांगीतिक प्रस्तुतिगरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने, २ नं. वडा अध्यक्ष विष्णुगोपाल महर्जन, समाजसेवी मुक्तिगोविन्द बैद्य, केदार न्यौपाने, नन्दरत्न स्थापित, शम्भुप्रसाद बास्कोटा, ज्ञानभक्त लामालगायतको सहभागिता थियो । कार्यक्रममा अतिथि वडा अध्यक्ष न्यौपानेले नेपाली संगीतको क्षेत्रमा स्वर सम्राट नारायण गोपालको योगदान अतुलनीय रहेको भन्दै विश्वमै फरक संस्कृतिको जगेर्ना गर्न नेपाली कलाकारहरुले खेलेको भूमिका उच्च मूल्यांकनयोग्य रहेको बताए ।कार्यक्रममा सुनकुमार मानन्धर, गहन खतिवडा, अमृत थापा, विरोध थापा, भीमलाल महर्जन, पुरुषोत्तम आचार्यलगायत संगीतप्रेमीहरुको सहभागिता रहेको थियो ।







