सवारी बिक्री र एक्सचेञ्जका नाममा नयाँसवारी भित्राउन तत्काल रोक्न माग
हेटौंडा- हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका तीनपांग्रे सवारीसाधन व्यवस्थापन सम्बन्धी समस्या बढ्दै गएको भन्दै यातायात व्यवसायी तथा मजदुर संघसंस्थाले नगरप्रमुखको ध्यानाकर्षण
गराएका छन् । बिहीबार यातायात सम्बन्धी ६ संगठनले संयुक्तरुपमा १० बुँदे माग राख्दै हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । व्यवसायीका अनुसार २०६९÷७० सालदेखि तीनपांग्रे सवारी सञ्चालन गर्दै आएका मजदुर नगरपालिकाको सहकार्यमा २०७६ सालदेखि स्टिकर प्रणालीमार्फत व्यवस्थितरुपमा सञ्चालन हुँदै आएका थिए । हाल उपमहानगरक्षेत्रमा स्टिकर भएका करिब २ हजार ३५ सवारी सञ्चालनमा रहेपनि विभिन्न गाउँपालिकाबाट अनुमति लिई भित्राइएका ४ हजार ५ सय भन्दा बढी सवारीका कारण बजारक्षेत्रमा अस्तव्यस्तता बढेको उनीहरुले ध्यानाकर्षणपत्रमार्फत जानकारी गराएका छन् ।
यातायात व्यवसायीले अवैधरुपमा अनुमति नलिई सवारी बिक्री गर्ने कम्पनी र बिचौलियाका कारण समस्या झन् जटिल बनेको बताएका छन् । विशेषगरी रातो नम्बर प्लेटका निजी सवारीले कानुनविपरीत यात्रु तथा सामान ओसारपसार गरिरहेको भन्दै यसले वैध व्यवसायीलाई मर्का परेको उनीहरुको आरोप रहेको छ । बढ्दो पेट्रोलियम मूल्यका कारण विद्युतीय सवारीतर्फ आकर्षण बढेको भएपनि यसको व्यवस्थापनमा स्पष्ट नीति आवश्यक रहेको व्यवसायीको धारणा रहेको छ ।
सम्बन्धित निकायसँग समन्वय नगरी सवारी बिक्री र एक्सचेञ्जका नाममा नयाँ साधन भित्राउने कार्य तत्काल रोक्न माग गरिएको छ । व्यवसायीले ट्राफिक प्रहरीमार्फत् रातो नम्बर प्लेटका सवारीमा कडाइ गर्न, नगरप्रहरीलाई स्टिकर जाँचको अधिकार दिन, अवैध सवारीलाई कारबाही गर्न तथा नक्कली स्टिकर नियन्त्रण गर्नुपर्ने माग राखेका छन् । ध्यानाकर्षणपत्रमा विभिन्न यातायात व्यवसायी संघका प्रतिनिधिले हस्ताक्षर गर्दै उपमहानगरलाई तत्काल प्रभावकारी नीति लागू गर्न आग्रह गरेका छन् ।







