ज्ञानदा माविमा कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाइने

साझाकुरा
२०८३ बैशाख ११, शुक्रबार ०८:४०

हेटौंडा- हेटौंडा–१० को एकमात्र सामुदायिक विद्यालय ज्ञानदा माध्यमिक विद्यालयले यस शैक्षिक सत्रबाट कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने भएको छ ।बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले अंगे्रजी माध्यम सञ्चालनबारे जानकारी दिएको हो । यसअघि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गरिरहेको विद्यालय यसै शैक्षिकसत्रमार्फत कक्षा ६ देखि ८ सम्म अंग्रेजी माध्यम थप गरिएको विद्यालयका प्रधानाध्यापक बिनोदकुमार गुप्ताले जानकारी दिएका छन् । ३ सय ३५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा हाल मावि तहमा ५ जना, निमावि तहमा १ जना, प्राथमिक तहमा ६ जना र बालविकास सहजकर्ता २ जना कार्यरत रहेको जनाइएको छ ।

प्रधानाध्यापक गुप्ताले यस विद्यालयका पूर्वविद्यार्थी सामजिक रुपमा स्थापित विभिन्न व्यक्तित्वहरुको उदाहरण समेत दिए । राष्ट्रिय फुटबल खेलाडी अञ्जन विष्ट, रञ्जन विष्ट, सप्तरी एपीएफका एसपी शैलेश श्रेष्ठलगायत यस विद्यालयका पूर्वविद्यार्थी हुन् । प्रधानाध्यापक गुप्ताका अनुसार विद्यालयलाई विभिन्न समस्याका कारण शैक्षिक गुणस्तर प्राप्त गर्न सकस भइरहेको छ । २०२८ सालमा व्यक्तिको निजी घरमा स्थापित यस विद्यालयको अहिलेपनि आफ्नै जमिन नहुँदा बि.स ं२०३५ सालदेखि नै भुटनदेवी मन्दिरको जग्गामा भवन स्थापित गरी पठनपाठन गरिरहेको जनाएको छ ।

२०५२ सालदेखि मावि तहमा सञ्चालन भएको यस विद्यालयको नयाँ भवन निर्माणमा सुस्तता आएपछि विद्यालयले झनै समस्या खेपिरहेको प्रधानाध्यापक गुप्ताको भनाइ छ । विद्यालयले हालसम्म प्राप्त गरेको प्रगतिबारे जानकारी दिंदै उनले एसइइ परीक्षा लक्षित अतिरिक्त तथा कमान्डो कक्षा सञ्चालनमा ल्याएको जानकारी दिए । विद्यालय सुधारका लागि पूर्वविद्यार्थी एल्मुनाइ तथा पूर्वशिक्षक एल्मुनाइ पुनर्गठन गर्दै सक्रिय बनाउने, निर्माणाधीन भवनको निर्माण अविलम्ब सम्पन्न गर्न लगाइ अंग्रेजी माध्यमका कक्षा नयाँ भवनबाट सुरु गरिने, नयाँ शैक्षिकसत्रबाट विद्यार्थीका लागि यातायातको साधनको व्यवस्था गर्ने, कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षाको सुरुवात गर्ने, छात्राको लागि सेनेटरी प्याड खरिद प्रक्रिया अघि बढाइसकेको जानकारीदिइएको छ ।

यस्तै गणित तथा बिज्ञान र कम्प्युटर ल्याव लगायतलाई अपग्रेड गरी सामाजिक ल्यावको सुरुवात गरिने प्रधानाध्यापक गुप्ताले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिको ज्येष्ठसदस्य रुद्रबहादुर हाडाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा वडा नं १० का अध्यक्ष फुर्वादोर्जे लामाले वडा कार्यालय तथा उपमहानगरपालिका समेत विद्यालयलाई क्रमिक सुधार गरी आगामी ५ वर्षमा नमूना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*