उपमहानगरको ग्रामीण बस्तीमा स्तरीय सडक बन्दै

साझाकुरा
२०८० मंसिर २१, बिहीबार ०९:५१

हेटौंडा- मुलुक संघीयतामा गएपछि बनेको स्थानीय सरकारले ग्रामीण क्षेत्रका सडक निर्माणमा बिशेष चासो देखाएका छन् । बागमती प्रदेश राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको केही वडा अझै दुर्गम जस्तै छन् ।साबिक हेटौंडा नगरमा गाभिएका बसामाडी, हर्नामाडी, हटिया, चुरियामाई, पदमपोखरी क्षेत्रको जनजीवन अझै सहज बन्न सकेको छैन । हेटौंडा नगरको कोर एरियासँग जोडिएपनि हेटौंडा–१ को अधिकांश ग्रामीण क्षेत्रको जनजीवन सहज बन्न सकेको छैन । उपमहानगरको ग्रामीण क्षेत्रका स्थानीयको जनजीवन सहज बनाउने कार्यमा जनप्रतिनिधि क्रियाशील रहेका छन् । यसैको उदाहरण हो हेटौंडा–को शिखरकोटसँग स्मारक जोड्ने सडक ।

स्तरीय मोटरबाटो अभावका कारण हेटौंडा बजारसम्म आउजाउ गर्नका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको हेटौंडा–१ शिखरकोट (ध्याङसिङटार)का बासिन्दा सडक सुबिधाबाट लाभाम्वित हुने भएका छन् । हेटौंडा उपमहानगरपालिका र हेटौंडा–१ वडा कार्यालयको लगानीमा हेटौंडा–११ बनदेबीबाट सडक स्तरीकरणको काम निरन्तर चलेसँगै बिकट गाउँमा रहेका स्थानीय सडक सुबिधाबाट लाभान्बित हुने भएका हुन् ।

उपमहानगर र वडा नम्बर १ बाट छुट्याइएको बजेटबाट गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ बराबरको काम भएको थियो । बहुबर्षीय योजनामा झै काम भइरहेको हेटौंडा–११ बनदेबीबाट उकालो लाग्दै जाने सडकमा गत आर्थिक वर्षमा उपमहानगरले २० लाख रुपैयाँ र १ नम्बर वडा कार्यालयबाट १० लाख रुपैयाँ गरी ३० लाख रुपैयाँ बराबरको काम भएको थियो । चालु आर्थिक वर्ष २०८०÷८१ मा उपमहानगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपैयाँ बजेटले बुधबारबाट सडकको स्तरीकरण सुरु गरिएको हो ।

उपमहानगरले बिनियोजन गरेको बजेटबाट थालिएको स्तरीकरणको कामलाई कार्यवाहक नगरप्रमुख राजेश बानियाँले शिलान्यास गरेका छन् । करीब ८ सय ७० मिटर लामो सडकखण्डको शिखरकोट पुगेर बानियाँले शिलान्यास गरेका हुन् । सडक निर्माण सम्पन्न भएसँगै हेटौंडा–११ हुँदै बजारसम्म आउन करिब २० मिनेटको समय लाग्ने स्थानीयको भनाई छ । अहिले भैरबडाँडा हुँदै बजारसम्म आउँन करिब २ घण्टा भन्दा बढी समय लाग्ने स्थानीय नामग्याल सिन्तानले बताए ।

सडकको शिलान्यास गर्दै उपमहानगरका कार्यवाहक नगरप्रमुख बानियाँले पूर्वाधार निर्माणको कामलाई बिशेष प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले तत्कालीन नगरपालिकासँग जोडिएका गाविसका ग्रामीण बस्ती लक्षित विकासलाई उपमहानगरले अघि बढाएको भन्दै जनताको भावनालाई समेट्दै अहिलेको नेतृत्व अघि बढ्ने बताए । बानियाँले उपमहानगरभित्र रहेर पनि धेरै वडाका बस्तीहरु बिकट रहेको भन्दै त्यस्ता बिकट क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका काम गरिने बताए । हेटौंडा–११ स्मारकसम्म जोडिनका लागि आगामी दिनमा पनि बजेट बिनियोजन प्रक्रियामा ध्यान दिने प्रतिबद्धता जनाए ।

सडक स्तरीकरणको शिलान्यास कार्यक्रममा हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपानेले शिखरकोट क्षेत्रमा रहेको स्वास्थ्यकेन्द्र र खानेपानीको समस्या समाधानको पहल गर्ने बताए । बजार क्षेत्र भन्दा पनि ग्रामीण भेगलाई ध्यान दिँदै वडा कार्यालयले काम गरिरहेको न्यौपानेले बताए । ग्रामीण बस्तीहरुमा सडक निर्माण भएपछि थप विकासको ढोका खुल्दै जाने भएकोले वडा कार्यालयले पहिलो प्राथमिकतामा सडकलाई राखिएको अध्यक्ष न्पौपानेले बताए ।

सडक स्तरीकरण समितिका अध्यक्ष लवाङ सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाईली, वडासदस्यहरु सोनामसिंह व्लोन, मनु दाहाल, वडासचिव गंगा राई, प्राबिधिक छटुलाल साह, नेपाली काग्रेस १ नम्ब इकाई सभापति हरिकृष्ण महर्जन, स्थानीय समाजसेवी नामग्याल सिन्तानलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*