नकौंलीमा स्वास्थ्यचौकी उद्घाटन, स्थानीयमा उत्साह
हेटौंडा- हेटौंडा उपमहानगरको वडा नं. १, ३ र १९ का उच्चभूभाग नगरको मूलप्राहमा समेटिन सकेका छैनन् । हेटौंडा–१ को ध्याङसिंटार, बाँझोडाँडा (जेसीजगाउँ) घट्टेडाँडा, लेकपानी, हेटौंडा–१९ को डुमारे, कुवापानी, ज्यामिरे क्षेत्रमा बसोवास गर्ने नगरवासीले नगरको अनुभूति गर्न अझै केही समय कुर्नुको बिकल्प छैन ।
शिक्षा, स्वास्थ्य, यातायात, संचार, खानेपानी, विद्युत, स्ंिचाई जस्ता विकासका पूर्वाधार पु¥याउनका लागि उपमहानगरले प्रयास गरिरहेको छ । तर, भौगोलिक बिकटताकै कारण विकासका पूर्वाधारको पहुँचबाट यहाँका बासिनदा निकै टाढा रहेका छन् । झट्ट हेर्दा उपमहानगरका बासिन्दा तर, सेवासुविधाको दृष्ट्रिकोणले बिकट ग्रामीण क्षेत्र । केही समयअघिमात्र सडक सुबिधा पुगेका यो बस्तीमा हिउँदमा यातायातका साधन चलेपनि झरी पर्न थालेपछि सडक सम्पर्क बिच्छेद हुने गरेको छ ।
आधारभूत तहको शिक्षा आर्जन गरेपछि बालबालिकालाई माध्यमिक तहको अध्ययनका लागि अझै पनि सहरमा डेरा भाडामा लिएर बस्नुपर्ने अवस्था छ । सानोतिनो बिरामी पर्दा पनि एम्बुलेन्स उपलब्ध हुन नसक्दा झोलुङ्गो वा स्ट्रेचरको सहारामा बजारको अस्पतालमा पु¥याउनुपर्ने अवस्था छ । संचारको पहुँचबाट पनि उनीहरु पछाडि नै छन् । सोमबार नकौली स्वास्थ्यचौकीको उद्घाटन भएपछि प्राथमिक स्वास्थ्यको सुबिधा अबका दिनमा गाउँमै पाउँने कुरामा स्थानीबासी आशाबादी भएको स्थानीय स्यवमसेवीका दुदुमाया घलानले बताइन् ।
अब यो क्षेत्रको विकासको गति बिस्तारै अघि बढ्ने बिश्वास उनले गरेकी छन् । उपचारको अभाबका कारण ठुलो समस्या रहँदै आएको थियो, अब प्राथमिक स्वास्थ्यउपचार स्वास्थ्यचौकीबाट पाउनेमा स्थानीय आशाबादी भएका हुन् । थप सुबिधाहरु बिस्तार गर्दै लैजानुपर्ने घलानले बताइन् । स्वास्थ्य समस्या झेल्दै आएका हेटौंडा–१, ३ र १९ वडाको बिकटका बस्तीमा केही आशाको दियो बल्न थालेको छ ।
सामान्य सिटामोल किन्न समेत लामो समय खर्चेर हेटौंडा बजारसम्म धाउँनुपर्ने बाध्यतामा रहेको स्थानीय गाउँमै स्वास्थ्यचौकी उद्घाटन भएपछि खुशी भएकाछन् । हेटौंडा उपमहानगरपालिकाले बिकट क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरेको स्वास्थ्यचौकीको उद्घाटन भएपछि उनीहरु खुशी भएका हुन् । सिटामोल किन्न समेत हेटौंडा बजारसम्म जानुपर्ने बाध्यता थियो, स्वास्थ्यचौकीको उद्घाटनसँगै गाउँमै सुविधा पाएपछि स्थानीयमा खुशियाली छाएको स्थानीय नामग्याल सिन्तानले बताए ।
स्वास्थ्यचौकीका लागि पूर्वाधार निर्माण भएपनि खानेपानीको अभावका कारण स्वास्थ्यचौकीबाट सेवाप्रबाह गर्न समस्या रहँदै आएको थियो । उपमहानगरले नकौली आधारभूत सहरी स्वास्थ्यचौकीबाट सेवा दिन सुरु गरेको हो । स्वास्थ्यचौकीको सोमबार हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँलेसंयुक्तरुपमा उद्घाटन गरेका छन् । स्वास्थ्यचौकीको उद्घाटन गर्दै नगरप्रमुख लामाले रोगलाई लुकाउने बानी तत्कालै छोड्न आग्रह गरिन् । उनले घरपरिवार, छिमेकको डरले रोग लुकाएर बस्ने परम्परा रहेको र त्यसलाई तत्काल छाड्न स्थानीयलाई आग्रह गरिन् । स्वास्थ्यचौकीबाट उपचार सेवालाई परिस्कृत गर्दै लैजान उपमहानगरपालिका तयार रहेको भन्दै बिस्तारै प्रसुती सेवाको पनि व्यवस्था गरिने बताइन् ।
कार्यक्रममा नगरउपप्रमुख बानियाँले नगरको विकासमा काम गरिरहेको बताए । जनताको आधारभूत आवश्यकतालाई पूरागर्ने क्रममा उपमहानगरको बिकटक्षेत्रको विकासमा लागेको बताए । उनले उपमहानगरमा जोडिएका साबिक गाविसकोमा विकासको गतिलाई बिस्तार गरिदै लगिने बताए । उपमहानगरले नगरवासीको स्वास्थ्यलाई ध्यान दिँदै २०७६ बाट निर्माण थालेको स्वास्थ्यचौकीबाट खानेपानीको अभावका कारण महिनामा एक पटक मात्र सेवा दिर्दै आएको थियो ।
हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमममा वडाअध्यक्ष न्यौपानेले स्थानीयका लागि पानी, प्रसुतीसेवा, सडकको पूर्वाधारलगायत विकासको व्यवस्थापन गर्दै जाने बताए । उपमहानगरले बिकट क्षेत्रमा बढी ध्यान केन्द्रित गर्दै स्थानीयको आवश्यकता पूरा गर्ने कार्यक्रमहरु ल्याउने प्रयास गरिरहेको बताए । नगरको ग्रामीण बस्तीमा विकासका न्यूनतम पूर्वाधारको पहुँच पु¥याउने कार्यमा आफ्नो ध्यान निरन्तर रहेको अध्यक्ष न्यौपानेले बताए ।
उपमहानगरको स्वास्थ्य शाखाले गत वर्षबाट नियमित सेवा दिने व्यवस्था मिलाएको थियो । उपमहानगरपालिका–१ को ध्याङसिंटार, बाँझोडाँडा, घट्टेडाँडा, लेकपानी सहित हेटौंडा–३ को डुमारे, कुवापानी क्षेत्रमा बसोवास गर्ने नगरवासीले सुबिधा पाउँने भएपछि स्थानीयले खुशी ब्यक्त गरेका छन् । अब यो क्षेत्रको विकासको गति बिस्तारै अघि बढ्ने बिश्वास उनीहरुको छ । अब न्यूनतम आवश्यकता स्वास्थ्य चौकीबाट पूरा हुने भन्दै थप सुबिधाहरु बिस्तार गर्दै लैजानुपर्ने स्थानीयको माग छ ।
स्वास्थ्थचौकीको उद्घाटनसँगै आयोजित महिलालक्षित पाठेघर, स्तनक्यानसर तथा प्रजनन्स्वास्थ्य शिविरमा स्थानीय १ सय जनाले सेवा लिएको उपमहानगर स्वास्थ्यशाखाका अहेब केशब तिमल्सिनाले बताए । शिबिरमा निःशुल्क औषधि बितरण गरिएको उनले जानकारी दिए ।उपमहानगर स्वास्थ्य शाखाको आयोजनामा भएको स्वास्थ्यचौकी उद्घाटन तथा शिविरमा हेटौंडा–८ का वडाअध्यक्ष रामकृष्ण थापा, ९ का वडाअध्यक्ष सुकराम केसी, कार्यपालिका सदस्यहरु पातलिमाया गोङवा, रुकमिणी गोङवा, इश्वरी रसाइली लगायतको आतिथ्यता रहेको थियो ।







