उत्पादन बढेपनि बजार व्यवस्थापन चुनौतीपूर्ण

हेटौंडामा पहिलोपटक ड्रागन फ्रुट महोत्सव
साझाकुरा
२०८३ असार १२, शुक्रबार १२:४०

हेटौंडा- मकवानपुरमा उत्पादन हुँदै आएको ड्रागन फलको प्रवद्र्धन र बजारीकरणलाई टेवा पु¥याउने उद्देश्यले हेटौंडामा पहिलोपटक ड्रागन फ्रुट महोत्सव सुरु भएको छ । प्रादेशिक कृषि थोकबजार सञ्चालन समिति तथा ड्रागन फ्रुट महोत्सव उपसमितिको आयोजनामा बिहीबारदेखि प्रादेशिक कृषि थोक बजार परिसरमा महोत्सव सञ्चालनमा आएको हो । महोत्सव असार १३ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेल र हेटौंडा उपमहानगरउपप्रमुख राजेश बानियाँले गरेका हुन् । ‘उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय उत्पादन’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवलाई बागमती प्रदेशसरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।

आयोजककाअनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ । ड्रागन फ्रुट महोत्सव समितिका संयोजक सूरज थिङले पछिल्ला वर्षमा मकवानपुरमा ड्रागन फल उत्पादन उल्लेखनीयरुपमा बढेको बताएका छन् । उत्पादन बढेपनि बजार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । किसानले उत्पादन गरेको फलले सहज बजार नपाउँदा समस्या हुने गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । महोत्सवमा विभिन्न प्रजातिका ड्रागन फल राखिएका छन् ।

रातो, सेतो र पहेंलो प्रजातिका फलको प्रदर्शनी गरिएको छ । स्थानीय किसानले उत्पादनगरेका ताजा फल बिक्रीका लागि राखिएका छन् ।
ड्रागन फलमात्र नभई यसबाट तयार गरिएका विभिन्न परिकार र प्रशोधित उत्पादन पनि प्रदर्शनीमा समावेश छन् । ड्रागन जुस, जाम, सलाद तथा ड्रागनको फूलबाट तयार गरिएको ग्रीन टी महोत्सवको आकर्षण बनेका छन् । यस्ता उत्पादनले ड्रागन फलको व्यावसायिक सम्भावना अझ
फराकिलो रहेको सन्देश दिएको छ । फललाई विभिन्न स्वरुपमा प्रयोग गर्न सकिने भएकाले किसान र उद्यमीका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । सहभागी किसानलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका लागि करिब दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

जसमध्ये बागमती प्रदेश सरकारबाट ७० हजार रुपैयाँ र हेटौंडा उपमहानगरपालिकाबाट एक लाख रुपैयाँ सहयोग प्राप्त हुने बताइएको छ । यसवर्ष ड्रागन फलको उत्पादन अपेक्षाभन्दा धेरै भएकाले बजार व्यवस्थापनमा चुनौती देखिएको किसानले बताएका छन् । महोत्सव अवधिभर करिब दुई
हजार पाँचसयदेखि तीन हजार किलोग्रामसम्म ड्रागन फल बिक्री हुने अनुमान गरिएको छ । ठूलो संख्यामा उपभोक्ता महोत्सवमा आउने आयोजकको विश्वास छ । स्थानीय उत्पादनप्रति बढ्दो आकर्षणकाकारण बिक्री उत्साहजनक हुने अपेक्षा गरिएको छ । किसानलाई प्रोत्साहन गर्न विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।

समापन समारोहमा सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई सम्मान गरिनेछ । सबैभन्दा बढी बिक्री गर्ने किसानलाई पनि पुरस्कृत गरिनेछ । त्यस्तै उत्कृष्ट बाइप्रोडक्ट उत्पादन गर्ने किसानलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । मकवानपुरमा कोभिड–१९ महामारीताका मनहरीका युवाले ड्रागनखेती सुरु गरेका थिए । त्यसपछिका दिनमा यो खेती विस्तार हुँदै गएको छ । मनहरी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका तथा हेटौंडा उपमहानगरका विभिन्न क्षेत्रमा यसको व्यावसायिक खेती भइरहेको छ । हाल जिल्लामा करिब ४० देखि ५० जना किसानले व्यावसायिक रुपमा ड्रागन फल उत्पादन गरिरहेका छन् ।

मकवानपुरमा उत्पादित ड्रागन फ्रुट हेटौंडासहित पोखरा, काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ । कम पानीमा उत्पादन गर्न सकिने, रोग तथा कीराको समस्या कमहुने र बजारमा राम्रो मूल्य पाइने भएकाले ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । कृषिक्षेत्रको विविधीकरणमा समेत यसले महत्वपूर्ण योगदान पु¥याएको छ ।महोत्सवले ड्रागनखेतीको सम्भावना उजागर गर्नुका साथै किसानलाई उत्पादन वृद्धि गर्न थप हौसला मिल्ने अपेक्षा गरिएको छ । महोत्सव प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म तथा बेलुका ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*