कक्षा १२ को त्रुटिपूर्ण नतिजा सच्याउन माग गर्दै ज्ञापनपत्र
हेटौंडा- संयुक्त विद्यार्थी संघ मकवानपुरले कक्षा १२ को परीक्षाफलमा देखिएको त्रुटि सच्याउन, रिटोटलिङ शुल्क फिर्ता गर्न तथा दोषीमाथि कारबाही गर्न माग गर्दै राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।बोर्डले सार्वजनिक गरेको परीक्षाफलमा प्राविधिक तथा व्यवस्थापकीय कमजोरीका कारण हजारौं विद्यार्थी प्रभावित भएको दाबी गर्दै संघले विद्यार्थीको शैक्षिक भविष्य र मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको जनाएको छ । ज्ञापनपत्रमार्फत् नतिजा प्रणाली वा उत्तरपुस्तिका परीक्षणमा भएको कमजोरीको निष्पक्ष छानबीन गरी संलग्न पदाधिकारी तथा प्राविधिक टोलीमाथि आवश्यक कारबाही गर्न संघले माग गरेको छ ।
बोर्डको त्रुटिका कारण विद्यार्थीले तिर्नुपरेको रिटोटलिङ शुल्क तत्काल फिर्ता गर्नुपर्ने माग पनि राखिएको छ ।उत्तरपुस्तिकाको पुनःपरीक्षण व्यवस्था लागू गर्न, ग्रेडवृद्धि परीक्षाको समयतालिका र प्रक्रिया सहज बनाउन तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन डिजिटल र पारदर्शी परीक्षा प्रणाली विकास गर्न आग्रह गरिएको छ ।
संयुक्त विद्यार्थी संघका प्रतिनिधिले विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील विषयमा गम्भीरता नदेखाइए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्यहुने चेतावनी दिएका छन् । ‘विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कुनैपनि कमजोरी स्वीकार्य छैन । शिक्षाक्षेत्रमा पारदर्शिता, जवाफदेहिता र न्याय सुनिश्चित हुनुपर्छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।







