एक सातासम्म नि :शुल्क ‘हेटौंडा सिटी टुर’

साझाकुरा
२०८३ असार १२, शुक्रबार १२:४३

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक सातासम्म निःशुल्क ‘सिटी टुर’ सञ्चालन गरेको छ ।बुधबारदेखि सुरु भएको ‘सिटी टुर’ अन्तर्गत नगरभित्र रहेका प्रमुख पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थलको अवलोकन गराइनेछ । निःशुल्क यातायात सेवामार्फत् सञ्चालन हुने सिटी टुरमा नगरवासी तथा आन्तरिक पर्यटकले सहभागिता जनाउन सक्ने हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।

उनकाअनुसार आफ्नै नगरभित्र रहेका पर्यटकीय गन्तव्यबारे जानकारी गराउने, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने तथा नगरको पहिचानलाई थप स्थापित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । सिटी टुरका क्रममा सहभागीलाई नगरका विभिन्न पर्यटकीय स्थल, प्राकृतिक सम्पदा, धार्मिक तथा सांस्कृतिक महत्वका स्थानको भ्रमण गराइनेछ ।

उपमहानगरपालिकाले नगरवासीलाई कार्यक्रममा सहभागी भई आफ्नै सहरलाई नजिकबाट चिन्ने अवसरको सदुपयोग गर्न आग्रह गरेको छ । होटल एशोसीएसन, मकवानपुरको व्यवस्थापनमा ‘सिटी टुर’ सुरु गरिएको हो । हेटौंडामा आएका पर्यटकलाई समेत सोही बसमा सिटी टुर गराइने गरी प्रवन्ध मिलाइएको छ । एक सातासम्म सञ्चालन हुने सिटी टुरमा सहभागिताका लागि उपमहानगरपालिकाले आवश्यक व्यवस्थापन मिलाएको छ । चार रुटमा सञ्चालन हुने टुरमा हेटौंडा र हेटौंडा नजिकका पर्यटकीय गन्तव्यको भ्रमण गराइनेछ ।

बिहीबार दक्षिणकाली मन्दिर, मनकामना मन्दिर, रुद्रेश्वर महादेव मन्दिर, वनस्खण्डी, जलेश्वर महादेवको मन्दिरको भ्रमण गराइएको थियो भने शुक्रबार अर्थात् १२ गते जुरेथुम, मूर्तिबगैंचा, गोरक्षताल र सालक पार्कको भ्रमण गराइने बताइएको छ । यस्तै, १३ गते त्रिखण्डेश्वर महादेव मन्दिर, सुन्दरीमाइ, गुप्तेश्वर गुफा, भीमसेन मन्दिर, हात्तीसार, चिसापानीगढी, देउराली हिल साइड भ्रमण गराइने बताइएको छ ।

यस्तै, १४ गते टोनी हेगन पार्क, वनविज्ञान अध्ययन संस्थान एवं जैविक संग्राहलय, मानवसेवा आश्रम, अनाथ अपा· बालपुनस्र्थापना केन्द्र, पुष्पलाल पार्क, १५ गते गोरक्षश्वर महादेव, भुटनदेवी मन्दिर, कमलडाँडा गुम्बा, पशुपति मन्दिर, लक्ष्मीनारायण सिसमहल, १६ गते चुरियामाई मन्दिर तथा सुरुङमार्ग, दिव्यसेवा निकेतन, मकवानपुरगढी र ढुंगेगढी भ्रमण गराइनेछ । आगामी आर्थिक वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने योजना बनाएको उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको पहिचानका लागि यस्तो कार्यक्रम आयोजना गरेको नगरप्रमुख लामाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*