३ सय ३० विद्यार्थीलाई शैक्षिक सामग्री
हेटौंडा- मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका ३ सय ३० जना विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । वडा नम्बर ४ झुरझुरेस्थित महाबुद्ध आधारभूत विद्यालयमा आयोजित कार्यक्रमबाट विद्यार्थीलाई विद्यालय पोशाक, झोला र स्टेशनरी सामग्री वितरण गरिएको सामाजिक विकास संयोजक कमानसिं पाख्रिनले जानकारी दिए ।
शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र बागमती गाउँपालिका बीच गत आर्थिक वर्ष २०७९÷८० मा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन सम्बन्धमा भएको सम्झौता अनुरुप विद्यालय बाहिर रहेको बालबालिकालाई पहिचान गरी विद्यालयमा भर्ना गरी ती बालबालिकालाई नियमित पठनपाठनका लागि आवश्यक पर्ने ५ हजार २ सय बराबरको स्टेशनरी सामग्री, विद्यालय पोशाक र झोला वितरण गरेको पालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।
यसैगरी, वडा कार्यालय र विद्यालयबाट सिफारिस गरिएका विशेष आवश्यक सहयोग गर्नुपर्ने बालबालिकालाई ५ हजार २ सय ५० रुपैयाँ बराबरको स्टेशनरी सामग्री, पोशाक र झोला वितरण गरेको अध्यक्ष घलानले बताए ।







