ठगीको आरोपमा मकवानपुरकी चुहान पक्राउ

साझाकुरा
२०८० पुष ५, बिहीबार १०:४६

हेटौंडा-वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा मकवानपुरकी ३३ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्ने ३३ वर्षीया चमेली चुहानलाई पक्राउ गरेको हो । प्रहरीले चुहानसँगै अर्का एक पुरुषलाई पनि पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका–१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्ने ४० वर्षीय नवीन खड्का पनि ठगीमा संलग्न रहेको प्रहरीको दाबी छ । उनीहरुले दुबई पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार चुहानलाई बालाजुबाट र नवीनलाई नयाँबानेश्वरबाट नियन्त्रणमा लिएको थियो । उनीहरुविरुद्ध पीडित जगत बहादुर विष्टले वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको वैदेशिक रोजगारी विभागमा उजुरी दिएका थिए । सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । आरोपित दुईजनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*