वडास्तरबाट भूमिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले वडास्तर बाटै भूमिसम्बन्धी अभिमूखीकरण कार्यक्रमको सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरको समन्वयमा वडास्तरबाटै अभिमुखीकरण भइरहेको हो ।भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लगत संकलनसम्बन्धी कार्यविधि २०७७ जारी भएपछि लगत संकलन गरिएको थियो । वडास्तरमा फारम संकलन भएका थिए । अब वृहतरुपमा फारम केलाउने आवश्यक प्रक्रिया अघि बढाउने गाउँपालिकाका भूमि शाखाप्रमुख कविराज हुमागाईले बताए । गाउँपालिकाले विहीबार वडा नम्बर ४ को वडा कार्यालयमै भूमिसम्बन्धी जानकारी गराइएको हो ।
वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, राष्ट्रिय भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, बागमती गाउँपालिकाका भूमि शाखा प्रमुख निशा ढुंगाना, वडासदस्य सुमित्रा लामिछाने, संगीता परियारलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा निशा ढुंगानाले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा वडास्तरमा गठन गरिएको भूमिसम्बन्धी सहजीकरण समितिका सदस्य एंव वडाबासीको सहभागिता रहेको थियो ।
अभिमुखीकरण पछि कागजपत्र पूणरुपमा केलाउने र थप अपुग कागजपत्र माग गर्ने, वडाबाट सिफारिस गर्ने, अनलाईन भर्ने कार्य गर्नुपर्ने प्रमुख हुमागाईले बताए । यसअघि पालिकास्तरीय अभिमुखीकरण, वडा नं. ३ मा समेत गरिसकेका बताए । शुक्रबार वडा नम्बर ६ मा कार्यक्रम गरिने तय भएको छ । मकवानपुरगढी गाउँपालिकामा चार हजार भन्दा बढीले फारम भरेका छन् भने १७९ जनाले भने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी भनी आवेदन दिएको जनाइएको छ ।







