उद्दार गरिएका बालकहरु अभिभावकलाई जिम्मा लगाइयो
हेटौंडा-विभिन्न प्रलोभनमा बालश्रम गर्न भारत पुगेका ८ जना बालाबालिकाको ग्रामीण विकास केन्द्र रौतहट र सामुदायिक विकास तथा सचेतना नेपालले समन्वयमा उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ ।ग्रामीण विकास केन्द्र, रौतहट र सामुदायिक विकास तथा सचेतना नेपाल, मकवानपुरले, राष्ट्रिय बालअधिकार परिषद् र मिसन रेस्क्यू अपरेशन इन्डीयाको समन्वयमा बालकलाई नेपालल्याएको हो ।
उद्दार गरी ल्याइएका बालकको शनिबार नै जिल्ला प्रहरी कार्यालय गौरमा एक कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, राष्ट्रिय बालअधिकार परिषद्को प्रतिनिधिलगायत सरोकारवालाको रोहवरमा अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले बताए ।उद्दार गरेका बालक सवै रौतहटका छन् ।
जसमध्य राजपुर नगरपालिकाका २ जना, स्नाथ नगरपालिका २ जना, दुर्गा भगवती गाँउपालिकाका २ जना र गढीमाई नगरपालीकाका २ जना छन् । बालकहरु ६ देखि ८ महिना पहिले विभिन्न प्रलोभनमा चिनजानका आफन्तबाट नै भारत पुगेकाथिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा मिसन रेस्क्यू अपरेशन इन्डीयाले भारतीय प्रहरीको सहायतामा गत अगस्टमा उद्दार गरेको थियो ।
ग्रामीण विकास केन्द्र रौतहटका प्रतिनिधि कुमारी ममता झा र सामुदायिक विकास तथा सचेतना नेपालको कार्यकारी निर्देशक दिलिप कोइराला, सचिव अनन्त बानियाँ भारतको मुम्बई पुगी बालकल्याण समिति मुम्बई सहर र महिला तथा बालबालिका विभागसँग छलफल तथा समन्वय गरी बालकलाई नेपालसम्म ल्याई अभिभावकको जिम्मा लगाएका
हुन् । १७ वर्ष मुनिका बालकलाई १२ देखि १८ घण्टासम्म काममा लगाउने र काम गरेबापतको पैसा माग्दा रेल स्टेशनमा ल्याएर छोड्ने जस्ता शोषणमा रहेको एक बालक बताउँछन् ।
६ महिना अगाडिदेखि घरमा खबर नगरी सम्पर्कविहीन भएको छोरालाई खोजी गर्दै १ महिना अघिमात्र भारतको बालगृहमा छ भन्ने खबर पाएका एक अभिभावक नुसरत बेगम छोरालाई भेट्दा खुशी हुँदै अव घरमै राखेर पढाउने २५ वर्ष नपुगेसम्म बाहिर काममा नपठाउने बताउछन् ।सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक कोइरालाका अनुसार अझै भारतका विभिन्न बालगृहमा नेपालका बालश्रममा परेका ६ बालकहरु रहेको र उनीहरुलाई नेपाल फर्काउन कागजी प्रक्रिया पूरा गर्ने काम भइरहेको र चाँडै नेपाल फर्काउने बताउँछन् ।







