हेटौंडा नगरकार्यपालिका बैठकको निर्णय सार्वजनिक

साझाकुरा
२०८० पुष ९, सोमबार १२:०४

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले ३६ औं कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेको छ । उपमहानगरका प्रवक्ता सविन न्यौपानेले ६ पुसमा भएको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।कार्यपालिका बैठकले अघिल्लो बैठकको समिक्षासहित १४ औं नगरसभा २१ पुसमा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाबाट जारी भएको कार्यसञ्चालन निर्देशिका परिमार्जनको लागि स्वीकृति प्रदान गर्ने, हेटौंडा–४ मा निर्माणाधीन बहुउद्देश्यीय भवनका सम्बन्धमा थप अध्ययन गरी पेश गर्न यस अघि गठित समितिलाई ३५ दिनको समय दिने, चीन राष्ट्रको युनान प्रान्तमा रहेको कुनै एक सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव पठाउने, हेटौंडा उपमहानगरपालिकामा कार्यरत स्थायी कर्मचारीको लागि स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम तहबृद्धिको सूचना जारी गर्ने निर्णय गरेको छ ।

बैठकले सेवा करारका कर्मचारीको आवश्यकता, औचित्यता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सेवा करार अवधि थप गर्ने, बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने सन्दर्भमा नियुक्ति भएका वडा सहजकर्तालाई प्रचलित कानून बमोजिम प्रसुति विदा, प्रसुति स्याहार विदा, किरिया विदा उपलब्ध गराउने, हेटौंडा उपमहानगरपालिका–१३ मा निर्माण हुने पदमपोखरी रंगशालालाई जग्गाको भोगाधिकारको लागि सम्बन्धित निकायमा सिफारिस सहित लेखि पठाउने निर्णय भएको बताइएको छ ।

यस्तै बैठकले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशस्तरको सार्वजनिक विश्वविद्यालय कायम गर्नको लागि वडा नंम्बर ३ र ११ को सीमानामा पर्ने राप्ती नदीउकास क्षेत्रको ३० विगाह जमिन उपलब्ध गराउनको लागि सम्बन्धित निकायमा सिफारिस सहित लेखि पठाउने, र हेटौंडा–५ राईटोलस्थित खाली रहेको रत्नकाली प्राविको जग्गामा हेटौंडा–५ को वडा कार्यालय भवन निर्माणको लागि चालु आवमा छुट्टिएको बजेटबाट उपभोक्ता समितिमार्फत निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*