उपमहानगरको बालमैत्री अभियान घ्याङसिङटारमा

साझाकुरा
२०८० पुष ९, सोमबार १२:१३

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको महिला बालबालिका तथा समावेशीकरण महाशाखाले बालमैत्री स्थानीय शासन अबलम्बनअन्तर्गत् उपमहानगरको वडा नं १ स्थित घ्याङसिङटारमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन सहजीकरण समितिका पदाधिकारी र सहजकर्ताको संयुक्त बैठक बसी सूचकहरुको समीक्षा गर्दा वडा नं १ का दुर्गम क्षेत्रमा बालबालिकाले बीचैमा विद्यालय छोड्ने, बालविवाह गर्ने र किशोरी आमा बन्ने जस्ता समस्या भएको हुँदा यो क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा बालबालिका, घ्याङसिङटार टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, किशोरकिशोरी र अभिभावकको उपस्थिति रहेको थियो ।

डा नं १ का बालमैत्री सम्पर्क व्यक्ति एवम् वडासदस्य मनु दाहालको अध्यक्षतामा सञ्चालन गरिएको सचेतना कार्यक्रममा सहजीकरण महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले र सहायक महिला विकास निरीक्षक निर्मला दाहालले गरेकी थिइन् ।हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन अभियान सञ्चालन गरेसँगै विभिन्न स्थानबाट बालविवाह, बालश्रम, कठिन परिस्थितिमा रहेका बालबालिकाको बारेमा उजूरी÷ जानकारी प्राप्त हुने गरेको तर, दुर्गमस्थानबाट यस्ता समस्या र घटनाको कुनै जानकारी आउने परिपाटीको विकास नभएको हुँदा यस्ता क्षेत्रमा क्रमिक रुपमा सचेतनाका कार्यक्रम गर्न लागिएको महाशाखा प्रमुख एवम् निर्देशक लामिछानेले बताइन् ।

बालमैत्री अभियानसँग सम्बन्धित केही कार्यक्रम यो स्थानमा सञ्चालन भएका छन्, टोलमा र विद्यालयमा बालसमूह गठन भएर क्रियाशील छन्, यति धेरै अभिभावक र बालबालिकासँगै राखेर यस्ता कार्यक्रम सञ्चालन गर्दा हामीलाई धेरै सिकाइ भएको छ, हामी टोल विकास संस्थामा बालमैत्री विषयमा छलफल गरेर अभिभाकलाई थप संवेदनशील बनाउनेछौं भन्दै टोल विकास संस्थाका अध्यक्ष भीमबहादुर ब्लोनले प्रतिबद्धता व्यक्त गरे ।

हाम्रो स्थानमा अरुभन्दा पनि बालबालिकाले पढ्न राम्रोसँग पाएका छैनन्, सरस्वती प्राविमा कक्षा ५ सम्म अध्ययन गर्दछन् त्यसपछि नकौलीको कालिका आधारभूत विद्यालयमा पढ्न जान्छन् ९ कक्षा पढ्नको लागि बजार जानुपर्छ जुन निकै कठिन कुरा हो त्यसैले यहाँका बालबालिकाको समस्या समाधान गर्न १० कक्षासम्म पढनको लागि यही स्थानमा व्यवस्था मिलाउनुपर्छ उनले थपे ।

कार्यक्रममा बालमैत्री परिवार, विद्यालय एवम् समाज निर्माणमा अभिभावकको भूमिका र बालबालिकाको दायित्व बारेमा छलफल समेत गरिएको थियो । बालबालिकाले बीचैमा विद्यालय छोड्दा बालविवाह, बालश्रम, कुलत तथा हिंसा जस्ता समस्याको श्रृंखलाको शुरुवात हुने भएको हुँदा विद्यालय नियमित गराउन सबैले सकरात्मक पहल गरिनुपर्ने विषयमा र बालबालिकासँग सम्बन्धित समस्या समाधान गर्न वडा, उपमहानगरपालिका, विभिन्न निकाय र संस्थाको भूमिका बारेमा जानकारी गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*