हेटौंडा उपमहानगरले कानुन र कृषि स्नात्तक पढाउने
हेटौंडा- प्राविधिक शिक्षातर्फ स्नात्तक तहको २ वटा विषयको अध्यापन गराउने योजनामा हेटौंडा उपमहानगरपालिका कार्यालय लागेको छ ।हेटौंडाकी मेयर मीना कुमारी लामाको नेतृत्वमा मंगलबार कानुन र कृषि विषय अध्यापनका लागि २ वटा शैक्षिक संस्थाको स्थलगत अनुगमन गरिएको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर उपमहानगरपालिकाले २ वटा कलेज सञ्चालन गर्ने तयारी अनुसार शैक्षिक संस्थाको अनुगमन गरिएको हो । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार हेटौंडामा कानुनतर्फको बीएएलएलबी ५ वर्षे कोर्ष र कृषितर्फको बीएस्सी एजी ४ वर्षे कोर्ष संचालन गर्ने उद्देश्य अनुरुप शैक्षिक संस्थाको स्थलगत अनुगमन गरिएको हो ।
उपमहानगरपालिकाको अगुवाइमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर हेटौंडामा नै यो विषय अध्यापनका लागि तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए । उनका अनुसार मंगलबार विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाको टोलीले यो विषय अध्यापन हुने २ वटा शैक्षिक संस्थाको अनुगमनगरिएको हो । अध्ययापनको प्रक्रिया अघि बढाउन हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कानुन र हेटौंडा–१६ को जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा कृषितर्फको विषय संचालनका लागि अनुगमन गरिएको उनले बताए ।
गत असोजमा उपमेयर बानियाँको नेतृत्वमा विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा सूचिकृत गरिएको थियो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति कोइरालाको टिम विद्यालयको अनुगमनका लागि हेटौंडा आएको हो । अनुगमन टोलीले दुवै विद्यालयको भौतिक संरचना तथा आवश्यक पूर्वाधारको स्थलगत अनुगमन गरेको थियो । टोलीले कानुन र कृषि संकायका लागि आवश्यक ल्याब तथा कक्षाकोठाको समेत अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा विश्वविद्यालयका डिन प्रा.डा. पवनकुमार झा, हेटौंडा उपमहानगरपालिका–१ का वडाअध्यक्ष सविन न्यौपाने, २ का वडाअध्यक्ष विष्णुगोपाल महर्जन, वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा क्याम्पस सञ्चालन समिति अध्यक्ष आनन्दराम पराजुलीलगायतको उपस्थिति थियो ।







