हेटौंडामा यःमरि पुन्हि मनाइयो
हेटौंडा-नेवार समुदायले नयाँ धान भित्राएको खुसीयालीमा मनाईने यःमरि (मनपर्ने रोटी) पुन्हि पर्व हेटौंडामा भव्य रुपले मनाइएको छ ।नेवार समुदायको दुई संस्थाले मंगलबार हेटौंडा बजारको बुद्धचोकमा निःशुल्क यःमरि र अचार वितरण गरी मनाएका हुन् । नेवाः देय् दबु र नेवाः साँस्कृतिक पुचः मकवानपुरले छुट्टाछुट्टै स्टल राखेर यःमरि र अचार पकाएर वितरण गरेको थियो । कार्यक्रम नेवारी महिलाले मौलिक पोशाक हाकुपटासीमा सजिएर यःमरि बनाएका थिए । कार्यक्रमको हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले उदघाटन गरेकी थिइन् ।
नेवाः देय् दबुले आयोजना गरेको कार्यक्रम दबुका जिल्ला अध्यक्ष विष्णुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो । दबुले ४० किलो मैदाबाट करिव एक हजार चार सय वटा यःमरि र गोलभेडाको अचार निःशुल्क वितरण गरेको जनाएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय प्रतिनिधि सुरेश श्रेष्ठ, नेवाः देय् दबुका जिल्ला सचिव देवकुमार श्रेष्ठ, जिल्ला सदस्य यज्ञबहादुर श्रेष्ठ, हेटौंडा उपमहानगर अध्यक्ष प्रतिमा श्रेष्ठ, नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे लगायतको उपस्थिति रहेको थियो ।
नेवाः देय् दबुले मकवानपुर जिल्ला कार्यसमिति र हेटौंडा नगर कार्यसमितिबाट मात्र आर्थिक सहयोग संकलन गरी संस्कृति जगेर्ना गर्न यःमरि पुन्हि मनाएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा नेवाः अगुवाहरु शर्मिला श्रेष्ठ, सुना श्रेष्ठ, कान्छी श्रेष्ठ, शिव श्रेष्ठ, रमा श्रेष्ठ, राजु श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, विश्व श्रेष्ठ लगायतले यःमरि पुन्हि बनाउँन र वितरणमा भूमिका खेलेका थिए ।नेवाः साँस्कृतिक पुचः मकवानपुरले आयोजना गरेको यःमरि पुन्हिको पनि हेटौंडा उपमहानगरपालिका मेयर लामाले उदघाटनगरेकी हुन् ।
कार्यक्रम नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरको अध्यक्षतामा भएको थियो । करिब ५ सय जनालाई प्रतिव्यक्ति २ वटा यःमरि र आलुचोखा वितरण गरिएको पुचःका जिल्ला महासचिव नारायण राजथलाले जानकारी दिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, शाखा अधिकृत गंगाकुमारी चौलागाई, भैरव कुमाललगायतको आतिथ्यरहेको थियो ।







