निजी क्षेत्रको जिम्मा २० वर्षलाई दामन भ्यूटावर
हेटौंडा-थाहा नगरपालिकाले दामनस्थित भ्यूटावर संचालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । तीन वर्षदेखि बन्द रहेको दामन भ्यूटावर पुस १ गतेदेखि २० वर्षका लागि दामन भ्यूटावर रिसोर्ट प्रालिलाई संचालनको जिम्मा दिएको हो ।वार्षिक ५ लाख रुपैयाँ भाडामा नगरपालिकाले २० वर्षसम्म संचालनको जिम्मेवारी दिएको नगरप्रमुख विष्णु विष्टले जानकारी दिए । गत मंसिर २६ गते दुवै पक्षबीच भएको सम्झौताअनुसार रिसोर्टलेधरौटीबापत ५ लाख रुपैयाँ बुझाइ सकेको छ भने भाडा वापतको ५ लाख आगामी वैशाखमा बुझाउने छ । हरेक ५ वर्षमा २० प्रतिशत भाडा बढाइने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।
थाहा–४ को पर्यटकीय क्षेत्र दामनमा करिब ९ रोपनी क्षेत्रफल ओगटेको रहेको भ्यूटावरमा २ वटा टेलिस्कोपलगायत सुविधायुक्त कोठा, सभाहल र कटेज छन् । रिसोर्टले अहिले त्यहाँ मर्मतसम्भारको काम गरिरहेको छ । समुद्री सतहबाट २ हजार ३ सय २२ मिटर उचाईमा रहेको टावरबाट विश्वका उच्च १४ मध्ये ८ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । त्रिभुवन राजपथ निर्माणका क्रममा विसं २०११ सालमा नक्सांकन गरिएको भ्यूटावर ०१८ सालमा निर्माण गरेको हो ।
पर्यटन मन्त्रालयअन्तर्गत रहेको यो भ्यूटावर दुई दशकसम्म सर्लाहीका एक व्यक्तिले ठेक्कामा लिएर संचालन गरेका थिए । तोकिएको ठेक्काको रकम पनि नदिएपछि सरकारले ०६५ सालमा जिल्ला विकास समिति मकवानपुरलाई ५ वर्षका लागि संचालनको जिम्मा दिएको थियो । सरकारले आठ वर्षअघि थाहा नगरपालिकालाई हस्तान्तरण गरेको भ्यूटावरमा ०७२ को भूकम्पले क्षति पु¥याएपछि नगरले मर्मत गरेको थियो ।







