जलवायु परिवर्तनको मुद्दामा राज्य होटलमै व्यस्त, समुदाय मार खेप्दै

निशा गुरुङ
२०८० पुष १२, बिहीबार १२:०३

 हेटौंडा- वायुमण्डलमा तापक्रम घट्ने र बढ्ने प्रक्रियाबाट विकसित जलवायु परिवर्तनको असरबाट समुदाय पीडित बनिरहँदा राज्य भने अनुदार बनेको आरोप लागेको छ ।जलवायु परिवर्तनको असरबाट जुध्न बाध्य समुदायसम्म पुग्न नसकेको सरकार जलवायु परिवर्तनको मुद्दामा होटलमै बसेर बहस र पैरवी मात्रै गरिरहेको सरोकारवालाहरुले आरोप लगाएका हुन् । हेटौंडामा आयोजित जलवायु परिवर्तनमा सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व विषयक बागतमी प्रदेशस्तरीय सम्मेलनमा सहभागी सरोकारवाला निकायले राज्य जलवायु परितर्वनको मुद्दा लिएर समुदायस्तरमा पुग्न नसकेको जिकिर गरेका छन् । जलवायु परिवर्तनको असर भोग्दै आएका सीमान्तकृत, गरिव, विपन्न वर्गमा राज्य पुग्न नसकेको र माथिमाथि बहस र पैरवीमा मात्रै अड्किएको सरोकारवालाले बताए ।

जलवायु परिवर्तनका असरले समुदायस्तरमा नराम्रो प्रभाव भइरहँदा पनि सरकार गम्भीर र संवेदनशील बन्न नसकेको आरोप लगाइएको हो । बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईं ‘गाउँ, सीमान्तकृत तथा विपन्न वर्गमा जलवायु परिवर्तनको अवस्था र यसका असरबारे कति बुझाउनसक्यौँ ?’, भन्दै प्रश्न गर्छिन् । उनले जलवायु परिवर्तनको मुद्दामा राज्य माथिमाथि उडेको आरोप लगाइन् । ‘समुदायमा खोई पुगेको, जलवायुपरिवर्तनको मुद्दामा राज्य माथिमाथि उडेर बसेको छ ।’, उनले भनिन् । उपसभामुख चापागाईंले स्थानीयस्तरमा यसको असर र प्रभावका बारेमा जानकारी गराउनुपर्नेमा जोड गर्छिन् ।

जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिबाट विपन्न वर्गका महिलाहरु स्वास्थ्य समस्याबाट गुज्रिरहेको उनको भनाई छ । शिक्षा, स्वास्थ्य र कृषि उत्पालनमा जलवायु परिवर्तनले प्रत्यक्ष असर पु¥याइरहेको उनले बताइन् । ‘ग्रामीण क्षेत्र यसको असरबाट प्रभावित छ । तर, गाउँमै जलवायु परिवर्तनको असरहरु नियन्त्रणका योजना पुग्न नसक्नु दुःखद् विषय हो ।’, जलवायु परिवर्तनसम्बन्धी कानुन, नीति, नियम अपा· जस्तै भएको उनको भनाई छ । जलवायु परिवर्तनको विषयमा स्थानीय सरकारलाई प्रत्यक्ष जोडेर काम गर्नुपर्ने उपसभामुख चापाईंले बताइन् ।

बागमती प्रदेशसभा सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले जलवायु परिवर्तनको विषयमा राज्य गम्भीर बन्न नसकेको आरोप लगाइन् । ‘नदी, नाला, तालतलैया, सिमसार सुकेका छन् । बस्ती विस्तापित हुँदै गइरहेको छ । सिचाईं क्षेत्रमा सिचाई हुन नसकेको अवस्था छ ।’, माडी नगरपालिकाकी प्रमुख ताराकाजी कुमारी महतोले भनिन् । उनले जलवायु परिवर्तनले पु¥याएको असरबारे जानकारी दिँदै राज्यले व्यवस्थित योजना बनाएर जान नसकेमा ठूलो क्षति हुनेतर्फ संकेत गरेकी छन् ।

चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना र एक्सन एडको सहयोगमा नेपालमा जलवायु परिवर्तनको असर तथा यसबाट परेको प्रभाव न्यूनीकरणमा राज्यले अपनाइरहेको अनुकुलनका उपाय तथा अपनाउनुपर्ने नीतिगत व्यवस्थाबारे सम्मेलनमा छलफल भएको छ । सम्मेलनमा जलवायु परिवर्तन र अनुकुलनको लागि भएका नीतिगत व्यवस्था र सरकारले बजेट व्यवस्थापनमा कसरी जलवायु परिवर्तन र सीमान्तकृतको सवाललाई सम्बोधन हुने गरी अनुकुलनका कार्यक्रम ल्यायो भन्ने सम्बन्धमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य भारती पाठक, माडी नगरपालिकाकी प्रमुख ताराकाजीकुमारी महतो, सामाजिक विकास मन्त्रालयका उपसचीव खुबीराम अधिकारी, गैसस महासंघ प्रदेश अध्यक्ष आरती पाठक, सहयोगी संस्था एक्सन एडका परियोजना अधिकृत कविता बस्नेत, मकवानपुर महिला समूह अध्यक्ष निशा लामालगायतले जलवायुपरिवर्तनले पारेको असरका बारेमा धारणा राखेका थिए । सम्मेलनमा वातावरणका क्षेत्रमा क्रियाशील मुकेश पोखरेलले जलवायु परिवर्तनको अवधारणा र त्यसले सीमान्तकृत समुदायमा पार्ने प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

पोखरेलले सीमान्तकृत समुदायमा जलवायु परिवर्तनको असर बढी परेको बताए । महिला तथा सीमान्तकृत समुदायको जीविकोपार्जन तुलनात्मक रुपमा प्राकृतिक स्रोतमा बढी निर्भर रहेको र यी स्रोतहरु जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण स्रोतहरुको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास तथा क्षतिका कारणले सीमान्तकृत समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको उनको भनाई छ । जीविकोपार्जनका वैकल्पिक अवसरको अभावका कारण उनीहरु परिवर्तित प्रतिकूल परिस्थितिको सामना गर्न असमर्थ हुने गरेको पोखरेलको दाबी छ ।

जलवायु परिवर्तनको कारक हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका ज्यादै न्यून भएपनि यसको असर देखापरिसकेको पोखरेलले बताए । नेपालमा कृषि, जलस्रोत, जैविक विविधता तथा मानव स्वाथ्यलगायतका क्षेत्रमा जलवायु परिवर्तनले प्रभाव पारेको छ । पानी पर्ने समयमा फेरबदल र मौसममा गडबडी हुँदा खेती लगाउन समस्या हुने उनले बताए । भूक्षय र बाढीपहिरोका घटना बढ्नाले माटोको उर्वरा शक्ति घट्नाले कृषि उत्पादनमा ह्रास आउने पोखरेल बताउँछन । नयाँ खालका कीटाणु तथा रोगव्याधि निस्किएर बालीनालीलाई क्षति पु¥याउने समस्या जलवायु परिवर्तनको कारण रहेको कार्यपत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*