मकवानपुरसहित तीन जिल्लामा चिउरी र चमेरो संरक्षण कार्यक्रम

साझाकुरा
२०८० पुष १२, बिहीबार १२:१७

हेटौंडा-बागमती प्रदेश सरकारले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण गर्ने कार्यक्रम लागू गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ ।प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको हो । चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका नगरपालिका, चितवनको इच्छाकामना, मकवानपुरको राक्सिराङ तथा धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा कार्यक्रम लागू गर्न लागिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले कार्यविधि निर्माण गरेर अर्थ मन्त्रालयमा पठाएको छ । मन्त्रिपरिषदबाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि पालिकामा बजेट पठाइने छ । प्रदेश सरकारले यस वर्ष चिउरी र चमेरो संरक्षणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कार्यक्रम आर्थिक तथा सामाजिकरुपमा विपन्न तथा पिछडिएका सीमान्तकृत चेपाङ समुदायको जीविकोपार्जनका साथै आर्थिक तथा सामाजिक क्षेत्रमा जीवनस्तर सुधार गर्नका लागि महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तिकरण गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।कार्यक्रम पालिकाको २० प्रतिशत साझेदारीमा लागू गरिने सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताइन् । चिउरीको नर्सरी स्थापना, वृक्षरोपण, सचेतनामूलक कार्यक्रम, मौरीपालन व्यवसायको प्रवद्र्धन, चिउरीको मह र दानाको बजारीकरण यस कार्यक्रममार्फत् हुने उनको भनाइ छ । चेपाङ समुदायलाई कार्यक्रममार्फत दिगो अर्थोपार्जनको स्रोतको व्यवस्था गरिने उनले बताइन् ।

उनले कार्यक्रम कार्यान्वयनका लागि चार चरणमा छलफल भएको भन्दै सबैको सुझाव र सल्लाहका आधारमा कार्यान्वयनमा लैजाने बर्तान् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गरिने बताए । प्रदेश सरकारले ल्याएको यो कार्यक्रम नमूना कार्यक्रम भएकाले सबै पालिकासँग समन्वय गरेर काम गरिने उनले बताए । ‘राज्यले सबै जातजाति, कला र संस्कृतिको संरक्षण गर्ने भनेको छ, चेपाङ समुदाय त यसै पनि पछाडि परेकाले हाम्रो विशेष प्राथमिकता हुनुपर्छ ।’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*