स्थापना दिवसमा न्यानो कपडा सहयोग
हेटौंडा- व्यावसायिक एकता समाजको रुपान्तरणमा हाम्रो भूमिका र व्यावसायिक वातावरण निर्माण गरी व्यावसायीको हक र अधिकार सुनिश्चितता सृजना गर्ने उद्देश्यका साथ स्थापना भएको जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको चौथो स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरणगरेको छ । संघले विहीबार मकवानपुरको बकैया गाउँपालिका ३ मा अवस्थित बालहित प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विकको अध्यक्षता तथा बकैया–३ का पूर्ववडाध्यक्ष दिलबहादुर भम्जनको प्रमुख आतिथ्यतामा कपडा वितरण गरिएको थियो । कार्यक्रममा जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरका अध्यक्ष रामहरि तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो ।
विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको संघका अध्यक्ष तिमल्सिनाले बताए । चिसो मौसम भएकाले साना बालबालिकालाई पढ्नमा कपडाले न्यानो बनाउने छ भन्दै संघको स्थापना दिवसमा कपडा सहयोग गरिएको अध्यक्ष तिमल्सनाले बताए । कार्यक्रममा बकैया–३ का वडासदस्य हर्षबहादुर बल, विद्यालयका प्रअ शारदा फुयाल, जुत्ता चप्पल व्यवसायी संघका महासचिव केदारनाथ दुलाल, सचिव प्रह्लाद खनाल, कोषाध्यक्ष राजु लम्साल, सल्लाहकार विर्जुदास बानियाँ, रामनाथ बानियाँ लगायत संघका पदाधिकारीको उपस्थिति थियो ।







