मनहरीमा सुर्तीजन्य पदार्थको नियमन तीव्र
हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले सुर्तीजन्य पदार्थ नियमन कार्यमा तीव्रता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममै गुट्खा विक्री वितरणमा रोक लगाउने घोषणा गरेपछि नियन्त्रण अगाडि बढाउँदै आएको हो ।नीति तथा कार्यक्रम अनुसार विभिन्न समयमा गुट्खा विक्री वितरण रोक लगाउने सचेनता कार्यक्रम गर्दै सूचना प्रकाशन गरी विक्रेतालाई जानकारी गराएको छ । तर, त्यसबाट गुट्खा विक्री वितरणमा कमी नआएपछि गाउँपालिकाले नियन्त्रणमा सक्रियता देखाएको हो । गाउँपालिकाले नगरप्रहरी भर्नापश्चात सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्वयनका लागि गत मंसिरबाट नगरप्रहरी भर्ना गरिएको थियो ।
गाउँपालिकाले पहिलो चरणमा नगरप्रहरी परिचालन गरी एक सातासम्म गुट्खाजन्यपदार्थ विक्रेतालाई सम्झाउने बुझाउने काम गरेका थिए । तर, विक्रेताले गाउँपालिकाको सूचनालाई अटेर गरेपछि शुक्रबारदेखि नगरप्रहरीले सुर्तीजन्य पदार्थ विक्री वितरण गर्ने स्थलमै पुगेर जफत गरेको गाउँपालिका प्रशासन शाखाका शैलेश बास्कोटाले बताए ।मनहरी गाउँपालिका प्रशासन शाखाका बास्कोटा सहित नगरप्रहरी साहायकनिरीक्षक थिरनाथ देवकोटाको टोलीले वडा नं ६ र ७ मा अनुगमनका क्रममा करिब ८ प्याकेट गुट्खा जफत गरेका छन् । सम्झाईबुझाई गर्दा पनि अटेर गरेपछि जफत गर्न बाध्य भएको प्रशासन शाखाले जनाएको छ । बजार अनुगमनमा ईलाका प्रहरी कार्यालय मनहरी रसुनाचुरीका प्रतिनिधिको पनि उपस्थित थिए ।







