मनहरीमा जंगली हात्तीको वितण्डाले डेढ दर्जन घरमा क्षति
हेटौंडा-मकवानपुरको पश्चिमीक्षेत्रस्थित मनहरी गाउँपालिकामा पछिल्लो दुइसातादेखि वितण्डा मच्चाइरहेको जंगली हात्तीले डेढ दर्जन बढी घरमा क्षति पु¥याएको छ ।शुक्रबार मध्यरात थप तीनवटा घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हात्तीले धान र चामल पनि खाईदिएको छ । शुक्रबार राती ११ बजे मनहरी गाउँपालिका वडा नम्बर ७ शान्तिटोलका संजय साह, लक्ष्मी परियार र र वडा नं.८ सिमपानी शिबलाल प्रजाको घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार साहको घरको ढोका भत्काएर १ बोरा धान र परियारको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको १ साईडको भित्ता भत्काएको छ ।
प्रजाको ब्लकले बनेको जस्ताले छाएको १ तले घरको छानो र १ साईडको भित्ता भत्काएर १ बोरा चामल खाएको प्रहरीले जनाएको छ । खानेकुरा खोज्दै मनहरीको बस्तीमा पल्केको हात्तीलाई स्थानीय, प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले जंगलतर्फ लखेटेका थिए । घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । हालसम्म जंगली हात्तीले करिब दर्जन बढी घरहरुमा क्षति गरिसकेको छ ।
हात्तीकै आक्रमणबाट गत शनिबार राती मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको थियो । हात्तीको कारण गाउँबासीमा त्राश बढेको छ भने रातमा राम्रोसँग सुत्न पाएका छैनन् । किसानले खेतबारीमा लगायतको अन्नबाली समेत क्षति गर्दै आएको छ । हात्ती नियन्त्रण गर्न निकुञ्जले चासो नदेखाएको मनहरीबासीको गुनासो छ । पुस १ गते राती हात्तीले चेपाङको ढुंगा र जस्ताले बनेको १ तले घरमा पूर्णरुपमा क्षति पु¥याएको मकवानपुर प्रहरीले जनाएको छ।







