हेटौंडा सिटी कलेजमा खाना प्रदर्शनी
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–५, स्थित हेटौंडा सिटी कलेजमा खाना प्रदर्शनी भएको छ । बीसीए चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले आइतबार आयोजना गरेको खाना प्रदर्शनीमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले ४ वटा स्टल राखी खाना प्रदर्शनी गरेका हुन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फोटन गर्ने, सहकार्यमा काम गर्न, प्रयोगात्मक सीपलाई व्यवहारमा उतार्न र नयाँ वर्ष २०२४ लाई लक्षित गरी शुभकामना आदान प्रदान गर्ने उद्देश्यले खाना प्रदर्शनी, सांगीतिक कार्यक्रम आयोजना गरेको क्याम्पसका प्रिन्सिपल श्रीबहादुर कार्कीले बताए । कार्यक्रममा विद्यार्थीले खेल प्रदर्शनी पनि राखेका थिए । हेटौंडा सिटी कलेज विभिन्न संकाय र र जेनिथ विद्यालयतर्फ साढे ६ सयजना विद्यार्थी अध्ययनरत रहेको क्याम्पसका प्रिन्सिपल कार्कीले बताए ।







