बागमती प्रदेशमा भ्रमण वर्ष २०२४ सुभारम्भ

साझाकुरा
२०८० पुष १७, मंगलवार ११:५९

हेटौंडा- बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बागमती प्रदेश भ्रमणवर्षको बिधिवत घोषणा गरेका छन् । मन्त्रालयको तर्फबाट सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी मन्त्री महर्जनले प्रदेश भ्रमण वर्ष २०२४ को औपचारिक सुभारम्भ गरेका हुन् ।वर्षको सुरुवात भएसँगै भ्रमण वर्षको घोषणा गरिएको र केही दिनमै औपचारिक कार्यक्रम मार्फत् भ्रमण वर्षको कार्यक्रम अघि बढाइने मन्त्रालयका सचिव गोबिन्दप्रसाद रिजालले बताए । भ्रमण वर्षमा विविध कार्यक्रम गर्नका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसलाई विविध कार्यक्रममा विभाजन गरी खर्च गरिने सचिव रिजालले जानकारी दिए ।

भ्रमण वर्ष सफल बनाउन श्रव्यदृश्य सामग्री उत्पादन तथा विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने, प्रदेशका प्रमुख गन्तव्य समेटिएको पुस्तक तथा ब्रोसर तयार गर्ने, पर्यटन वर्षका टिसर्ट, ज्याकेट, स्टिकरलगायत प्रचार सामग्री उत्पादन तथा वितरण, पर्यटकीय नक्सा तयार गर्नेलगायतका कार्यक्रम तय गरिएको सचिव रिजालको भनाई छ । सचिव रिजालका अनुसार भ्रमण वर्षको अवधिमा मन्त्रालयले भ्रमण वर्षको लोगो, नाराहरु, पर्यटकीय गन्तव्यको विवरण समेटिएको होडिङ बोर्ड निर्माण गर्नेछ ।

बागमती प्रदेशका पर्यटकीय गन्तव्यको नक्सा निर्माण गरी वितरण गर्ने, विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिएर पर्यटन प्रवद्र्धनका लागि स्टलहरु राख्ने र प्रदर्शनी गर्ने, विदेशी पाहुना तथा राजदूतहरुलाई बागमती प्रदेशका पर्यटकीय क्षेत्र भ्रमण गराउने, विभिन्न पर्यटकीय प्रतियोगिता संचालन गर्ने र सद्भावना दूत नियुक्त गर्ने लगायत कार्यक्रम भ्रमण वर्षमा संचालन गरिने सचिव रिजालले बताए ।

भ्रमण वर्षको उद्घाटन समारोहमा २० लाख रुपैयाँ, प्रचारप्रसार अन्तर्गत १५ लाख रुपैयाँ, अन्य निकायहरुसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालनका लागि १५ लाख रुपैयाँ, पर्यटकीय गन्तव्यको प्रचारप्रसार सामग्री निर्माणका लागि १५ लाख रुपैयाँ, पर्यटन तथाहस्तकलाका सामग्रीको ब्राण्डीङका लागि ५ लाख रुपैयाँ, पत्रकारहरुसँगको अन्तरक्रिया, फिल्ड भिजिट कार्यक्रमका लागि ३ लाख रुपैयाँ, कार्यालय तथा अन्य कार्यक्रमका लागि ८ लाख रुपैयाँ भ्रमण वर्षभर खर्च गर्ने तयारी मन्त्रालयले गरेको छ ।

भ्रमण वर्षका लागि बजेट अपुग हुने भएकाले २ करोड रुपैयाँ रकम माग गर्ने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरिएको सचिव रिजालले बताए । जसअनुसार विदेशी पाहुना तथा राजदूतको भ्रमणका लागि १० लाख रुपैयाँ, प्रचारप्रसारका लागि २५ लाख रुपैयाँ, स्थानविशेष पर्यटन प्रवद्र्धनका लागि ७५ लाख रुपैयाँ, अन्य प्रवद्र्धनात्मक कार्यका लागि १० लाख रुपैयाँ, पर्यटन प्रवद्र्धनका लागि काम गरेका व्यक्तिहरुको सम्मानका लागि १५ लाख रुपैयाँ गरी कुल २ करोड ५० लाख रुपैयाँ बढी बजेट माग गरिएको छ ।

साँस्कृतिक सम्पदाको विविधता, मनोरम प्राकृतिक परिदृश्य र ऐतिहासिक महत्व बोकेको बागमती प्रदेशमा विद्यमान पर्यटकीयस्थल र सम्भावनाको पहिचान, संरक्षण, सम्बद्र्धन र प्रचारप्रसार गरी पर्यटकीय गतिविधिलाई अभिवृद्धि गर्नका लागि भ्रमण वर्ष मनाउन लागिएको बताइएको छ । बागमती प्रदेशका पर्यटकीय स्थलमा पर्यटक आवागमन बढाउदै अर्थतन्त्रलाई समेत गतिशील बनाउने उद्देश्य राखेर बागमती प्रदेश सरकारले बागमती प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ गरेको मन्त्री महर्जनले जानकारी गराए ।
वागमती प्रदेशको ऐतिहासिक र पुराना सहर, बस्तीका साथै विभिन्न कला, संस्कृति, चाडपर्व र रहनसहनलगायतका विविधताले सम्पन्न यस प्रदेशमा मनमोहक हिमालका साथै जैविक विविधतायुक्त प्राकृतिक सम्पदा अवलोकन गर्न पर्यटकलाई आग्रह गरिने मन्त्री महर्जनले बताए । विश्वसम्पदा सूचिमा समावेश भएका ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाको उचित संरक्षण र प्रचारप्रसार गरी आगामी दिनमा धेरै पर्यटकले भ्रमण गर्ने वातावरण निर्माण गर्नुका साथै भावी पुस्ताका लागि यस्ता धरोहर संरक्षण एवम् हस्तान्तरण गर्ने वातावरण निर्माणका लागि भ्रमण वर्षको अवधिमा विभिन्न कार्यक्रमको संचालन गरिने उनले बताए ।

यस्ता कार्यक्रमबाट आन्तरिक र बाह्य पर्यटकलाई प्रोत्साहन गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको मन्त्री महर्जनले बताए ।विगतमा कोभिड–१९ को महामारी तथा अन्य विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशील बनाउन र बागमती प्रदेशको भ्रमण गर्ने सबै पाहुनालाई यस प्रदेशको विविधताका बारेमा स्वः अवलोकन र मूल्यांकन गर्ने वातावरण निर्माण गर्न भ्रमण वर्ष सफल हुने अपेक्षा राखिएको मन्त्री महर्जनले दाबी गरे ।

बागमती प्रदेश भ्रमण वर्ष, २०२४ भब्यरुपमा सफल बनाएर पर्यटन क्षेत्रसँग प्रत्यक्ष र अप्रत्यक्षरुपमा जोडिएका सार्वजनिक निकाय, निजी क्षेत्रका व्यवसायीहरु, पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्था, नागरिकसमाज, सञ्चारजगत र अन्य सरोकारवालाको महत्वपूर्ण भूमिका रहने भएकाले सम्बद्ध सबै पक्षसँग समन्वय र सहकार्यको लागि हार्दिक अपील गरिएको मन्त्री महर्जनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*