हेटौंडा–काठमाडौं जोड्ने दुईवटा मार्ग १५ फागुनसम्म बन्द
हेटौंडा- हेटौंडा—काठमाडौं चल्ने दुईवटा छोटो सडकमार्गमा दुई महिनाको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । हेटौंडा–काठमाडौं आवतजावत गर्ने ५ वटा सडकमार्गमध्ये इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत फाखेल सडकखण्ड र चखेल–मातातीर्थ सडकखण्ड दुई महिनाको लागि बन्द हुने भएको हो ।मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्न २ महिनाका लागि बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ । यी सडकहरु पुस १६ गतेबाट फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताएका छन् । यी सडकको विकल्पमा अब सिस्नेरी, कान्तिलोकपथ तथा भीमफेदी–मार्खु–चित्लाङ–चन्द्रागिरि सडक प्रयोग गर्न सकिने इन्द्रसरोबर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईंले जानकारी दिए ।
हेटौंडाबाट काठमाडौंको लागि ५ वटा छोटो दूरीको सडकमार्ग सञ्चालनमा रहे पनि सबै सडकहरु जीर्ण रहेको कारण पहिलो चरणमा चखेल र फाखेल सडकको स्तरीकरण गर्न लागिएको हो । हेटौंडा र काठमाडौं जोड्ने ७ सडक मार्गमध्ये पाँचवटा छोटो बाटो बेहाल अवस्थामा छन् । यो बाटो प्रयोग गर्ने यात्रुले मार खेप्नुपरेको छ । हेटौंडा–काठमाडौं जोड्ने हेटौंडा–भीमफेदी–फाखेल, हेटौंडा–सिन्नेरी–काठमाडौं, हेटौंडा–चखेल र हेटौंडा–मार्खु–चित्लाङ–काठमाडौं सडकको अवस्था जर्जर छ । यात्रुले सास्ती नव्यहोरी यी सडक पार हुन्न ।
पाँच छोटो दुरीका सडकमध्ये चारवटा मुख्य लाइनको रुपमा रहेको हेटौंडा–भैंसे–भीमफेदी सडकखण्ड मर्मत तथा फराकिलो पार्ने काम लामो समय बितिसक्दा पनि पूरा भएको छैन । यात्रु हेटौंडाबाट २३ किलोमिटर दुरीमा रहेको भीमफेदी पुग्दासम्म धूलो र हिलोले दिक्क बन्ने गरेका छन् ।







