थाहानगरको फुर्केमा तमु ल्होसार मनाइयो

साझाकुरा
२०८० पुष १७, मंगलवार १२:०६

हेटौंडा-तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् इकाई समिति थाहा नगरपालिका–५ फुर्केको आयोजना तथा नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला कार्यसमितिको सहआयोजनामा साँस्कृतिक कार्यक्रमसहित तमु ल्होसार मनाइएको छ ।तमु ह्युलका इकाई अध्यक्ष तथा थाहा–५ का वडाअध्यक्ष बिष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशेष आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, सामाजिक विकास शाखाप्रमुख अनिल लामिछाने, ५ नम्बर वडाका निर्वाचित जनप्रतिनिधि, तमु विद्यार्थीका जिल्ला कार्यसमिति सदस्यहरु, तमु समाजका जेष्ठ सदस्य गणेशबहादुर गुरुङ, पत्रकार शम्भु अधिकारी लगायत अतिथिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना दिदै नगरप्रमुख बिष्टले संस्कार र संस्कृति जान्न र बुझ्नका लागि पनि युवाको सक्रियता बढेको देखेर खुशी लागेको बताए । ल्होसार चाड सामूहिकरुपमा मनाउँदा नयाँ पुस्ता र अन्य समुदायलाई पनि चासोको विषय बनेको उनको भनाइ थियो । उनले गुरुङ समुदायको संस्कृति तथा रहनसहनलाई पुस्तानान्तरण गर्दै लानुपर्नेमा जोड दिए ।

तमु ल्होसारको बारेमा र कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै तमु विद्यार्थीका मन गुरुङले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको बताउँदै यसदिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभूषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने तथा ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित भएको बताउदै गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउनेगरिएको बताइन । यसपटक तमु (गुरुङ समुदाय)ले तो (बिरालो वर्ग)को बिदाइ गर्दै गरुड बर्गको स्वागत गरेर भव्यरुपमा पर्व मनाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*