वटुकलाई पोशाक सहयोग
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१०, स्थित संस्कृत वेद विद्यालयमा अध्ययनरत् वटुक (विद्यार्थी) लाई पोशाक सहयोग उपलब्ध भएको छ ।बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमबीच हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाले वटुकलाई प्राप्त सहयोगको पोशाक वितरण गरेकी छन् । वटुकलाई संस्कृत वेद विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण थापाले आफ्नो नातीको जन्मदिनको अबसरमा पोशाक सहयोग गरेका हुन् । थापाले विद्यालयको अक्षयकोषमा दुई हजार ५ सय रुपैयाँ प्रदान गरेका छन् ।
विद्यालयले अक्षयकोष अभियान पनि सञ्चालन गरिरहेको छ । अक्षयकोषमा ५० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारीले जानकारी दिए ।विद्यालयका प्रअ अधिकारीले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले अक्षयकोष सञ्चालनको प्रशंसा गरेकी थिइन् । उनले अक्षयकोषमा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।
विद्यालयलाई सहयोग गरेर अनुशासित, सभ्य समाज निर्माण तथा संस्कृतिको संरक्षणका लागि उपमहानगरले सहयोग गर्ने मेयर लामाले वाचा गरेकी छन् । कार्यक्रममा बोल्दै हेटौंडा–१० का वडाअध्यक्ष फुर्वादोर्जे लामाले विद्यालयलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले संस्कृत वेद विद्यालयमा रहेर कुनै राजनीति नगर्न चेतावनी दिए । वडा कार्यालयले विद्यालयको भौतिक पूर्वाधार निर्माण र खाद्यान्नमा सहयोग गर्ने वडाध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन् ।







