बागमती सरकारको प्राथमिकता टुक्रे योजनामा सीमित

हालसम्म ६८० किमि सडक कालोपत्रे
साझाकुरा
२०८० पुष २०, शुक्रबार १०:०३

हेटौंडा-पहिले नै ट्रयाक निर्माण भएकासहित गत आर्थिक वर्षसम्ममा प्रदेश सरकारले ६ सय ८० दशमलव १९ किमि सडक कोलोपत्रेसहित स्तरोन्नति गरेको बताइएको छ । गत आवमा मात्र १ सय ४३ दशमलव ९४ किमि सडक कालोपत्रेसहित स्तरोन्नतिको काम भएको भौतिक पूर्वाधार मन्त्रालयले जानकारी दिएको छ ।बागमती प्रदेश सरकारले हरेक वर्ष भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको बताएपनि सानातिना वा वडातहबाट संचालन हुने योजनामा अलमलिएको स्थानीयको अनुभूति देखिन्छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पक्की पुल, झोलुङ्गे पुल, ढलान सडक, कालोपत्रेसहित सडक स्तरोन्नति, सडकको नयाँ ट्रयाक निर्माण, सडक ग्राभेल, मर्मतसम्भारलगायतका काम हुँदै आएको बताइएको छ । तर, सामान्यतया वडास्तरबाट गर्नु पर्ने सानातिना योजनामा प्रदेश सरकार अलमलिएका कारण देखिने वा ठूला योजनामा ध्यान पुग्न सकेको छैन ।

गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्ममा बागमती प्रदेश सरकारले बहुवर्षीय योजनासहित २६ सय ९ वटा योजना सम्पन्न गरेको छ । मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्रप्रसाद पुनले गत आवमा मात्र बहुवर्षीय योजना सहित ३ हजार ८ सय ६३ योजना सुरुवात गरेकोमा २ हजार ६ सय ९ योजना सम्पन्न गरेको जानकारी दिए । जसमध्ये २ सय ३१ वटा मात्रै बहुवर्षीय योजना रहेको थियो । सूचना अधिकारी पुनका अनुसार बहुवर्षीय योजनाबाहेक १ सय ९४ योजना अधुरै रहेको र २ सय ११ वटा योजना कार्यान्वयनमै नआएको जानकारी दिए ।

मन्त्रालयले प्रादेशिकतर्फ सडक निर्माणको ३ हजार ३ सय ५५ कुल योजना र ९१ वटा बहुवर्षीय योजनामध्ये २ हजार ३ सय ७७ योजना सम्पन्न गरेको छ । जसमा बहुवर्षीय योजना बाहेक ५ वटा सम्पन्न हुन नसकेको र ९६ वटा योजना कार्वान्वयन नभएको पुनले जानकारी दिएका छन् । त्यसैगरी, सडक पुलअन्तर्गत बहुवर्षीय योजना ८० सहित कुल १ सय ६३ योजनातर्फ ४४ वटा सम्पन्न गरेको जनाएको छ । जसमध्ये बहुवर्षीय योजना बाहेक ३ वटा योजना सम्पन्न हुन नसकेको र ६१ वटा योजना कार्यान्वयन नभएको मन्त्रालयको तथ्यांक छ ।

झोलुङ्गे पुलअन्तर्गत मन्त्रालयले १३ वटा बहुवर्षीय योजनासहित कुल ४८ वटा योजनामध्ये ६ वटा योजना सम्पन्न गरेको छ । २९ वटा योजना कार्यान्वयन नभएको मन्त्रालयले जनाएको छ । भवनतर्फ मन्त्रालयले बहुवर्षीय योजना एउटा सम्पन्न गरेको छ । संघीय सर्शत अनुदानतर्फ सडकअन्तर्गत बहुवर्षीय योजना १५ वटासहित कुल योजना २ सय ५८ वटामध्ये १ सय ७४ योजना सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी पुनले बताए । जसमा ६४ योजना बहुवर्षीय बाहेक सम्पन्न हुन नसेको योजना छन् भने २० वटा योजना कार्यान्वयन नगएका हुन् ।

संंघीय सर्शत अनुदान सडक पुलतर्फ बहुवर्षीय योजना १७ सहित कुल योजना २४ मध्ये ६ वटा योजना सम्पन्न भएका छन् भने बहुवर्षीय बाहेक ७ वटा योजना सम्पन्न हुन नसकेको मन्त्रालयले जनाएको छ । तीमध्ये ५ वटा योजना कार्यान्वयन नभएको सूचना अधिकारी पुनले जानकारी दिए । संघीय समपुरक अनुदानतर्फ बहुवर्षीय योजना १२ मध्ये १ वटा योजना सम्पन्न भएको छ ।यसैगरी, आव २०७८÷७९ सम्ममा पटके मर्मत सम्भारतर्फ धुले सडक एक हजार ५ सय ४ दशमलव ७३ किमि मर्मत सम्भार गरेको प्रदेश सरकारले आव २०७९÷० मा मात्र ३ सय २७ दशमलव २८ किमि धुले सडक मर्मत गरेको छ । गत आर्थिक वर्ष पटके मर्मतसम्भार कार्य पक्की सडकतर्फ १० दशमलव ६० किमि र ग्राभेल सडकतर्फ ३२ दशमलव ८६ किमि गरिएको थियो ।

पक्की र ग्राभेल सडकको पटके मर्मतसम्भार गत आर्थिक वर्षदेखि सुरु गरिएको हो । गत आर्थिक वर्ष हेरालुमार्फत ३ सय ६४ दशमलव २५ किमि मर्मतसम्भारको काम भएकोमा गत आर्थिक वर्षसम्ममा कुल एक हजार १७ दशमलव ३८ किमि मर्मतसम्भारको काम भएको प्रवक्ता सिंहले जानकारी दिए ।नयाँ सडक निर्माण, स्तरोन्नति र पुनस्र्थापनाको काम गर्दै आएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आवमा २ सय १ दशमलव ८६ किमीसहित कुल एक हजार ४३ दशमलव ५६ किमि सडकको नयाँ ट्रयाक निर्माण गरेको छ । यो अवधिमा ९ सय ३ दशमलव ७१ किमी सडक ग्राभेलस्तरमा स्तरोन्नति गरिएकोमा गत आवमा मात्रै १ सय ५९ दशमलव ०८ किमि सडक ग्राभेलस्तरमा स्तरोन्नति भएको थियो ।

सूचना अधिकारी पुनले पहिले ट्रयाक निर्माण भएकासहित गत आवसम्ममा ६ सय ० दशमलव १९ किमि सडक कोलोपत्रेसहित स्तरोन्नति भएको जानकारी दिँदै गत आवमा मात्र १ सय ४३ दशमलव ९४ किमि सडक कालोपत्रेसहित स्तरोन्नतिको काम भएको जानकारी दिए । यस अवधिमा २ सय ८३ दशमलव ३४ किमि सडक ढलान भएको छ । जसमा गत आवमा १ सय २ दशमलव ४१ किमि सडक ढलान भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*